Rumpum Advertisement

कालीन मुस्कान

कालीन मुस्कान
नवीन मनोहर

प्रेमलाई सोध
धोकाको परिभाषा
मिलनलाई प्रश्न राख
विछोडको विपर्याय
जीवनलाई जिज्ञासु बनी जिज्ञासा छोडाऊ
मृत्युको धुकधुकी ।

ओ ! मानव
ओ ! मानवी
के प्रकृति र प्रत्यय तिमी नै होइनौ
के कारक र विभक्ति तिमी नै त रहेनौ
मैले जीवनभर
तिम्रो अभिशेष गरेँ
मैले दिगदिगन्तमा
तिम्रै चित्र निखारेँ
मलाई भो नसोध अब
मुस्कान कहाँ हुन्छ
यो शुष्क आँखामा
मलाई भो नजिस्क्याऊ
सन्तुष्टि कहाँ हुन्छ
यो अधीर मनमा !

कालीन मुस्कान
पक्रन सके
जीवनमा यत्र तत्र सर्वत्र हुन्छ
पक्रन नसके
कहीँ कतै हुन्न ।

जीवनका बरमुढा त्रिकोण सबै मैले चहारे
स्थावर सबै मैले निहारेँ
जल र स्थल सबै मैले खोजेँ
तर कालीन मुस्कान
पाउन अति कठिन रहेछ ।