Rumpum Advertisement
Dazzu

गजल

गजल

विजय योजित

कहाँसम्म पुगिन्छ होला र यसरी बोकेर ।
हिँडिएको छ निधारमा जिन्दगी बोकेर ।

उजाड, रित्तो, प्यासी यस्तै उपमा पायो,
बगरले बसे पनि छातिमा नदी बोकेर ।

लोकधुन सुन्छ छोरो शहरको क्याफेमा,
बाऊ डुलेको छ गाउँमा सारंगी बोकेर ।

कोही ढुंगामा निदाए कोही चौतारीमा,
थाकेका हुन् भरियाहरू, कुर्सी बोकेर ।

गुलेली चलाएर हामीले साँध जोगायौं,
राष्ट्रसेवक भए उनीहरू खुकुरी बोकेर ।