Rumpum Advertisement
Dazzu

नरवणेको भ्रमणले दुई देशको सम्बन्धमा सकारात्मक उर्जा : सुरक्षाविज्ञ भट्टराई

नरवणेको भ्रमणले दुई देशको सम्बन्धमा सकारात्मक उर्जा : सुरक्षाविज्ञ भट्टराई

काठमाडौ, २२ कात्तिक । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई सकारात्मक उर्जा प्रदान गरेको सुरक्षाविज्ञ उमेश भट्टराईले बताएका छन् ।

संवादहीनताको अवस्थामा रहेको कुटनीतिलाई नरवणेको भ्रमणले केही हदसम्म सकारात्मक बनाउन सहयोग पुगेको सुरक्षाविज्ञ भट्टराईले बताए । सुरक्षविज्ञ भट्टराईले नरवणेको भ्रमणले नेपाल र भारतबीचको कुटनीतिक सम्बन्धलाई केही हदसम्म भए पनि गतिशील बनाउने विश्वास जगाएको बताए ।

सार्वभौंम सत्ताम्पन्न राष्ट्रको हिसाबले दुई देशबीचको सम्बन्धलाई बढाउन चाहने भए पनि एक वर्षदेखि रोकिएको प्रक्रियामा यो भ्रमणले कुटनीतिक सुरुवात भएको छ भन्ने सन्देश दिएकाले सकारात्मकरुपमा लिनुपर्ने बताए ।

उनले भने, ‘मुख्य गरेर संवादहीनताको अवस्थामा रहेको हाम्रो कुटनीतिलाई यसले केही हदसम्म चिर्ने काम गर्छ कि भन्ने हाम्रो अनुमान र विश्वास छ ।’

प्रधानमन्त्री र नरवणेको हिजोको वार्तामा एउटा सार्वभौंम सत्ता सम्पन्न राष्ट्रको हिसाबले हामी दुई देशबीचको सम्बन्धलाई बढाउन चाहने कुरा उठ्नु सकारात्मक रहेको उनले बताए । उनका अनुसार यसमा एक वर्षदेखि रोकिएको प्रक्रिया छ । ‘त्यो कुटनीतिक पहलबाट यसको सुरुवात होस् भन्ने किसिमको सन्देश दिनुभएको छ भारतीय संस्थापनलाई वा भारतको सरकारलाई,’ उनले भने, ‘त्यसले सकारात्मक भूमिका नै खेल्छ भन्ने लाग्छ ।’

दुई देशबीचको सेनाको सम्बन्ध ब्रिटिस आर्मी रहँदादेखिकै भएकाले पनि सैन्य कुटनीतिलाई भिन्दै किसिमले व्याख्या गर्नुपर्ने आवश्यकता नरहेको उनले बताए । कुटनीति सैन्य भए पनि वा गैरसैन्य भए पनि अन्ततोगत्वा मुलुुकलाई निकास दिन मद्दत पुग्ने पनि भट्टराईको भनाइ छ ।

इतिहासदेखिकै सम्बन्धका कारण नेपाली सेनाले भारतीय सेनासँग कुटनीतिक सम्बन्ध विकास गर्न खोज्नुलाई अन्यथा ठान्न नहुने पनि भट्टराईले बताए । तर स्वतन्त्र मुलुकको हिसाबले कुनै पनि स्थितिमा पछाडि हट्न नहुने र अहिलेको भ्रमणले कुटनीतिक वातावरण सकारात्मक बनाएको स्पष्ट हुने पनि उनले बताए ।