Rumpum Advertisement
Dazzu

संसदको हिउँदे अधिवेशन तत्काल गर्न आग्रह

संसदको हिउँदे अधिवेशन तत्काल गर्न आग्रह

काठमाडौ, २२ कात्तिक । पूर्वसभामुखहरुले संघीय संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् ।

संक्रमणकालीन अवस्थामा जनताको समस्या सम्बोधन गर्न र सरकारलाई सही बाटोमा डोहोर्‍याउन पनि संसदको आवश्यकता रहने भएकाले अधिवेशन तत्काल आह्वान गर्न पूर्वसभामुखहरुले आग्रह गरेका हुन् ।

संसदको आवश्यकता लोकतन्त्रमा महत्वपूर्ण रहेको भन्दै तत्काल अधिवेशन आह्वान गर्नुपर्ने पूर्व सभामुखहरुको भनाइ छ । लामो समय संसद बन्द हुँदा सरकार अराजक बन्ने खतरा हुने भएकाले तिहारलगत्तै अधिवेशन आह्वान हुनुपर्ने पूर्वसभामुखहरुले बताएका छन् ।

पूर्वसभामुख ओनसरी घर्तिले तिहारपछि अनिवार्यरुपमा संसद चलाउनुपर्ने बताइन् । संविधानअनुसार ६ महिनाभन्दा बढी समय संसद बन्द गर्न नहुने स्मरण गराउँदै उनले अहिलेको अवस्थामा जनप्रतिनिधिहरुले जनताका कुरा राख्न पनि संसद अनिवार्य रहेको बताइन् ।

कोरोना महामारीको समयमा सबै राजनीतिक एकै ठाउँमा रहेको अवस्थामा संसदबाट यससम्बन्धी थप छलफल र बहस गरेर अझ राम्रो हुने उनले बताइन् । जनताको प्रतिनिधिमूलक संस्था संसद बन्द हुँदा देशमा अराजकता मौलाउने डर हुने उनले बताइन् ।

विधिविधानअनुसार एउटा प्रक्रियामा अगाडि बढ्नका लागि संसदको आवश्यकता रहेको उनले बताइन् । उनले भनिन्, ‘जनताको प्रतिनिधिमूलक संस्था नचल्दा अराजकतातिर जान्छ । राष्ट्र र जनतामा परेको समस्यालाई केन्द्रिकृत गरेर वैज्ञानिक ढंगले समाधान गर्ने बाटोतिर जान सकिन्छ । संसद अनिवार्य छ ।’

पूर्वसभामुख रामचन्द्र पौडेलले राज्यलाई सञ्चालन गर्ने र सरकारलाई बाटो देखाउने भएकाले संसद अधिवेशन सुचारु गर्नु अनिवार्य भएको बताए । सरकारले संसदको अधिवेशन बन्द गर्दा कतिपय तत्काल बन्नुपर्ने ऐन, कानुनहरु अलपत्र परेको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि आकस्मिकरुपमा संसदको अधिवेशन अन्त्य गरेको उल्लेख गर्दै पूर्वसभामुख पौडेलले सत्तारुढ दलले एकाधिकार लाद्न खोजको दृष्टान्त भएको बताए । तिहार छठलगत्तै अधिवेशन सुरु गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘संघीय लोकतान्त्रिक प्रणालीमा संसद अभिन्न अंग हो । त्यसले नै राज्यलाई सञ्चालित गर्छ । सरकारलाई बाटो देखाउँछ । सरकारलाई आफ्नो कर्तव्यमा हिँड्न लगाउँछ ।’

सरकारले आकस्मिकरुपमा संसद अधिवेशन अन्त्य गर्दा प्रतिपक्षी दलले दतारुकता देखाउन नसकेको उनले स्वीकार गरे । संसदको क्रियाशीलता कायम राख्न तत्काल संसद बोलाउनुपर्ने पक्षमा कांग्रेस रहेको उनले बताए । सरकारले संसदको अन्त्य गरेर लोकतन्त्रको आत्मालाई मार्ने काम भएको उल्लेख गर्दै उनले संसद सुचारु गरेर लोकतन्त्रको आत्मा जोगाएर देशलाई समृद्धितर्फ लैजान सकिने बताए ।