Rumpum Advertisement
Dazzu

पार्वती सदा

पार्वती सदा
सागर तिमिल्सिना

दुःखको कथा के गर्नु हजुर !

मलाई साह्रै दुःख छ,
आफ्नो नामको जग्गा–जमिन छैन
सुकुम्बासीमा बसेको छ
जायजेथा जोडेको छैन
जो कमाउँछ, सोही खान्छ ।

म अर्काको घरमा बनिबुतो गर्छ
लोग्ने ज्याला–मजदुरी ।
जसोतसो गुजारा चल्दैछ
दुःखको कथा के कहनु हजुर
कोसँग गर्नु मेरो दुःखको उजुर ।

मेरो जेठी छोरी ज्यादै सोझो थियो
जसले जे भन्यो उसै गथ्र्यो
बरु, बिहे नगरी आफैंसँग राखेको भए हुने
मेरो कर्मै फुटेको !
उसको बिहे गरिदियौं
अहिले कहाँ छ, के गर्दैछ ?
कुनै खोजखबर छैन ।

गाउँलेहरु भन्छ–
‘पार्वती, तेरो छोरीलाई ज्वाइले बेचिदियो’
तर, दैव जानोस्… हजुर !
हामी मजदुरी गरिखाने मान्छे
हातमा पैसाकौडी हुँदैन
छोरीलाई कसरी खोज्ने ?
कहाँ–कहाँ खोज्ने ?

मेरो कथा धेरै लामो छ हजुर !
मैले कोसँग गर्ने यो दुःखको उजुर
झर्को लाग्दैन भने मेरो कुरा सुनिदिनुस्
पार्वतीको दुःख तपाईको कवितामा लेखिदिनुस् ।

आजकाल, मेरो लोग्ने बात–बातमा रिसाउँछ
दारु पिएर झगडा गर्छ
कमाएको पैसा दिँदैन
सबै दारुमै सिध्याउँछ
छोरीमात्र पायो भनेर दिनदिनै कुट्छ
मेरो कुनै बात मान्दैन
मलाई धेरै सताउँछ
मेरो मन धेरै दुखाउँछ ।

माइली छोरी जवान भएपछि
गाउँका मान्छेहरु भन्थ्यो–
‘पार्वती, तेरो माइली छोरी धेरै राम्रो छ
केटा खोजेर बिहे गरिदे !’

तर, के गर्नु हजुर !
हामी गरिब मान्छे
पैसाको बन्दोबस्त तुरुन्तै कहाँ हुन्छ र ?
केटाहरु दहेज माग्छ, त्यसै बिहे गर्दैन ।

म दुखियाको भागमा
अभागै–अभाग लेखेको छ ।
मेरो माइली छोरी फूलजस्तै थियो
असत्तिहरुले त्यो फूल लुछिदिएछ
लहुलुहान पारेर खेतमा फ्यालिदिएछ ।

ऊ घाँस काट्न गएको थियो
उखुबारीमै राक्षसहरुले मुहँकाला गरेछ
गिद्धलेजस्तै लुछेर
मेरो जवान छोरीलाई मारिदिएछ ।

तीन–चारजना थियो भन्छ
खै ! अहिलेसम्म त्यो अपराधी पक्रेको छैन
त्यो मेरो छोरीको हत्यारालाई
अहिलेसम्म पत्ता लगाउनै सकेको छैन ।

मेरो दुखको कथा लामो छ हजुर !
कस्ले सुनिदिन्छ पार्वतीको दुःखको उजुर
साइँली छोरीलाई
गिरहथको घरमा काम गर्न लगेको थियो
सानो– बचपनमै ।
जवान भएपछि झुण्डिएर मरेछ ।

गाउँलेहरु भन्छ–
‘तेरो छोरीसँग गिरहथको छोराको लसपस थियो रे !’
तर, भगवान जान्दछ–
उ आफैं म¥यो कि ! कसैले मारिदियो
उसको कुनै सुनुवाइ भएन ।

यहाँ हेर्नुस त !
अहिले फेरि मैले अर्को छोरी जन्माएको छ
कति राम्रो छ, यो मेरो सानी छोरी ।
तर, यो जन्मेदेखि नै
मेरो लोग्नेले यसको मुखसम्म हेरेको छैन
दारु पिएर बाहिर–बाहिरै हिँड्छ
घर पनि आउँदैन ।

तर, मेरो कोनै दुःखमनाउ छैन
कोनै फिक्री–चिन्ता छैन ।
अब मैले सब बुझिसकेको छ
दुनियादारी देखिसकेको छ
छोरी पनि ठूलो मान्छे बन्न सक्छ
छोरीले पनि देश चलाउन सक्छ
छोराजस्तै ठूलो–ठूलो काम गर्न सक्छ ।

अब, बनिबुतो गरेरै भए पनि
यो छोरीलाई खुब पढाउँछ
दुनियाँदारीको सबै कुरा बताउँछ
यसलाई म बहादुर बनाउँछ
हेर्दै जानुहोला ।

तपाईसबको म अहिले नै भनिदिन्छु
कुनै दिन यही मेरो कान्छी छोरीले
पार्वतीको नाम रोशन गराउनेछ
त्यो दिन, यो पार्वतीले छाती ठोकेर भन्नेछ–
ए हजुर ! मेरो छोरी छोराभन्दा कहाँ कम छ ?