Rumpum Advertisement
Dazzu

बैठक बोलाउन प्रधानमन्त्रीलाई प्रचण्डसहित ५ सचिवालय सदस्यको लिखित पत्र

बैठक बोलाउन प्रधानमन्त्रीलाई प्रचण्डसहित ५ सचिवालय सदस्यको लिखित पत्र

काठमाडौं, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यले तत्काल सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित अनुरोध गरेका छन् ।

पार्टीमा देखिएको विवाद समाधान गर्न शनिबार प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर लिखित पत्र पेस गरेका हुन ।

बालुवाटार पुगेका नेताहरुले प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग लिखित अनुरोध गरेपनि ओलीले बैठक बोलाउने विषयमा कुनै निर्णय गरेनन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई लिखित अनुरोध गरेपनि बैठक बोलाउने विषयमा निर्णय नभएको बताए ।

‘कोरानाले सिर्जना गरेको संकट सम्बोधन गर्न र स्थायी कमिटिले गरेका निर्णयहरुको कार्यान्वयन प्रक्रिया अगाडि बढाउन छलफल आवश्यक छ भन्दै तत्काल सचिवालयको बैठक बोलाउन लिखित अनुरोध गरेका छौं ।’ उनले भने ‘ कमरेड अध्यक्ष केपी शर्मा ओलीले बैठकका बारेमा आज निष्कर्श दिनु भएको छैन ।’

छलफलमा ओलीले पाँच जना सचिवालयका सदस्यको कुरा सुनेका थिए । ‘हामीले भोली या पर्सीसम्म बैठक बसेर यी सबै विषयमा गम्भीरतापूर्वक छलफल गरौं । भनेका छौं ।’ उनले भने ‘एकताबद्ध बनाउने, विधि र पद्दतीका आधारमा पार्टी चलाउने र पार्टीको निर्णय सबैले मान्ने अवस्था सिर्जना गरौं भन्नेमा जोड थियो ।’

नेकपाको सचिवालयमा दुई अध्यक्षसहित नौ जना सदस्य रहेका छन् । छलफलमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी थिए ।