Rumpum Advertisement
Dazzu

धाराप्रवाह बग्ने जीवनको कथा

धाराप्रवाह बग्ने जीवनको कथा
डा. गौराङ्ग मोहन्ता

अनवरत बग्ने एउटा अदृश्य छहरालाई जीवन भनिन्छ । यसको पटकपटक हुने उतारचढावले एउटा जीवन्त तलाउको निर्माण गर्दछ । जहाँ दुर्लभ नीलो कमलको फूल र पानीका झाडहरूले जीवनको गहन र स्पष्ट कथा सुनाउँछन् ।

जीवन र मृत्युसित मेरो एउटा गहिरो भाव जोडिएको छ । म आफ्नो आन्तरिक अस्तित्वको अलौकिक ढंगले पोषण गर्छु । फूलहरूको चमकले मेरो चेतन र अवचेतन मन अभिभूूत बन्छन् ।

एउटा संवेदनशील जीवन कूटनीतिक हुँदैन, प्रविधिसित जोडिएका कारण यो उत्पतिको बिन्दुसम्म फर्केर जान सक्दैन । तर पनि जीवन र नदी साथी हुन् किन भने दुबै आफ्नो मूूल बाटोमा फर्केर यात्रा गर्न सक्दैनन् । या त यी विलीन भइहाल्छन् या सिद्धिन्छन् । यदि फर्किए पनि त्यो बाटोको निम्ति हुन्छ जसमा पहिले हिँडेको थिएन । यसले एउटा नयाँ आकार लिनुपर्ने हुन्छ । तब यो नदी रहँदैन बरु एउटा निर्जीव कुण्ड बनिहाल्छ । यदि मानव मूूल्यहरूलाई पोषित र सम्मानित गरिएन भने जीवन पनि सार्थक हुन सक्दैन ।

मानव मूल्यहरूमा दया जोड्दा अस्तित्व आफैं पनि मान्य भइहाल्छ । यसले पलाँसको मुटुलाई छेडेर जान्छ । पीडाका क्षणहरूले पोल्छन् । प्रज्वलित चिन्ताहरूले भविष्यका अन्य क्षमताहरूलाई फुलाउँछन् । मकैको खेतलाई जलाएपछिको खरानीमा अनुकूल अन्न उब्जिन्छ ।

जीवनमा आस र चमक अचूूक छन् । नचाहेका इच्छाहरूले कहिलेकाहीँ आकार पाउँछन् । चाहे जीवन बाँच्नेलायक नहोस् तर जीवनबाट जोगिन साह्रै गाह्रो छ । जीवनका लागि प्रतीक आवश्यक छ । प्रतीकबेगरको जीवन निष्प्राण छ । संस्था विरोधी दिमागले पनि मुटुलाई भरोसा दिनेखालको बन्धन स्वेच्छाले चाहन्छ । विचारधाराबाट उत्पन्न कमलको रङ, गन्ध र स्पर्शले अस्तित्वलाई रोमाञ्चित पार्छ र अनन्त जीवनसित जोड्दछ । जीवन कमलको स्वप्निल डाँठ हो । मलाई थाह छ कि जब माया सच्चा हुन्छ त जीवनको आन्तरिक आवाज सुन्न गलत हुँदैन, म स्वयंलाई जीवन–दृश्य–ध्वनीमा समर्पित गर्छु ।

परिपक्व जीवन निरस बन्छ । कहिलेकाहीँ यो निरसता स्पष्ट र शीघ्र आउँछस कहिलेकाहीँ अस्पष्ट र ढिलो आउँछ । अनिश्चितता र उदासीनता जीवन विचलित बनेको लक्षण हो । तत्कालै काँपिरहेको थर्थराइरहेको कल्पनाशक्ति कणहरूसहित बादलको चिसो हावामा उड्छ । प्रतीक्षारत आँसुले नै अन्ततः मानिसलाई साथ दिन्छ । जीवन केही हदसम्म उत्तम बन्न सक्छ । एउटो रित्तो कप तातो आँसुको शुद्ध धाराले परिपूर्ण बन्छ ।

रित्तोपनको भावले जीवनको अर्थलाई जटिल बनाइदिन्छ । हुन त रित्तोपनको अर्थ सम्पूर्णरुपमा स्वीकृत छैन । यसकारण पीडाको ठोसरुपलाई खोज्न धेरै गाह्रो छ ।

के जीवन एउटा लामो अर्थहीन भाषण हो ? सोच्छु कि केही शब्दहरु मेटाइदिउँ या सारा वाक्य नै हटाइदिउँ । तर कहिलेकाहीं यो पनि सोच्छु कि निरर्थकतामा पनि अर्थ छ । मानसिले जीवनको हरेक अनुभवबाट गुज्रिन सम्भव छैन ।

(डाक्टर गौराङ्ग मोहन्ताको जन्म सन् १९६२ मा लालमोनिरहट, बंगलादेशमा भएको थियो । उनले ढाका विश्वविद्यालयबाट बीए अनर्स, र अंग्रेजीमा एमए गरेका छन् । र उत्तरबंगाल विश्वविद्यालय भारतबाट अंग्रेजी साहित्यमा पीएचडी गरेका छन् । उनको पहिलो कवितासंग्र्रह ‘अधिप्रान्तर जुरे छाया शरीर’ र विश्वप्रसिद्ध कवि रोबर्ट फ्रोस्टमाथि खोजमूलक शोधकार्य सन् २००९ मा प्रकाशित भएका थिए । उनका छवटा कविता संग्रहहरु प्रकाशित छन् । उनले दुई किताबको सम्पादन पनि गरेका छन् ।)

अनुवाद : चन्द्र गुरुङ