Rumpum Advertisement
Dazzu

लघुकथा : मापसे

लघुकथा : मापसे
प्रवीण सिन्धुलीय

सालमा पुगनपुग बीस हप्ता त म रक्सी पिउँछु होला । प्रायः साँझको समयमा नै पिउने गर्छु । चाडपर्व, भोज, वनभोजजस्ता अवसरमा त जंगेघोडा दिउँसै पनि चढियो होला । ठाँटी कुरोलाई ढाँटिराख्नु हुन्न भन्ने आत्मबोध भएकाले आत्मालोचना गर्न आँट आएको हो मलाई । गुप्त भेदमा छेद भइसकेपछि ‘पियक्कड’को टाँचा पक्कै लगाइदिनु नै हुनेछ मेरो स्वच्छ छविमा ! पियक्कड शब्द त तै बिसेक । जँड्याहा, ट्वाँटे, झल्लू आदि शब्दहरु चाहिँ कृपया प्रयोग नगरिदिनु होला ! ती त सुन्दा नै लाग्छन् !

मेरो साख्खे सुसुरो पनि पिउने गर्नुहुन्थौ । अहिले, नानाथरी रोग लागेको छ र भलादमी हुनुहुन्छ । हरियाणामा बिएसई (एजी) पढ्न बस्दा हिन्दी शायरीको एकटुक्रा कण्ठ पार्नुभएछ–

पिना हराम नहीँ है,
पिलाना भी हराम नहीँ है,
मगर, पिकर होस मेँ आना हराम है !

सँगै पिउँदा, हरेक चोटि, मन्त्रझैँ, उक्त शायरी वाचन गर्न भुल्नु हुन्नथ्यो । त्यो शायरीको भावना विपरीतको छु म । म सँधै होसमा नै हुन्छु ।

एउटा अर्को हिन्दी ठट्टा पनि सम्झिएँ–

इस दुनियाँ मेँ सब से कौन बडा ?
इस दुनियाँ मेँ तो वो बडा,
जो पूरी बोतल पिके भी दो टाँगो पे खडा !

एउटै बसाइमा पूरै बोतल (७५० मिलि/१ लि.) आजसम्म रित्याएको छैन । त्यो पाराले ‘सब से बडा’ हुइने पनि होइन, इच्छा पनि छैन । बरु कहिलेकाहीँ, गीतकार नीहारिका लक्ष्मीको लोकप्रिय गजलको भावनासित मिल्दोजुल्दो पाराले, साथीभाइको करकापलाई ‘नाइँ’ भन्न नसकेर चाहिँ मात्रामा बढोत्तरी अवश्य भएको छ ।

पिउँदिन भन्दाभन्दै पिलायो साथीले,
म छु भनी भरोसा दिलायो साथीले !

खासमा, म केही कुरा बिर्सिनाका खातिर पिउने गर्छु । जस्तो कि– बैंकको इएएमआई, बीमाको प्रिमियम, पैसा नझार्ने एटीएम कार्ड, पानी–बिजुलीको बिल, किराना पसलको उधारो, खातामा चढाएर पिएको भट्टीको रक्सी, आफ्नै बढ्दो उमेर, मुटु–कलेजोमा रोपिएका केही नाउँ र घाउहरु, पत्नीको ठासठुस र किचकिच, आदि–इत्यादि ।

पिएको बेला म केही कुरा सम्झिने पनि गर्छु । जस्तो कि– आफ्नै मुटु–कलेजो–मृगौला, जिम्मेवारी, समाज–संस्कार–अनुशासन, नाथे रक्सीसित हारेर परलोक पुग्नुभएको ठूल्दाइ, झूटा भाषण–आश्वासन, राष्ट्रघात, घुसखोरी, भ्रष्टाचार, महँगी, कालाबजारी, मानवतस्करी, हत्या–हिंसा–बलात्कार, दसगजा, कालापानी–लुपुलेक–लिम्पियाधुरा, बालुवाटार, सिंहदरबार आदि–इत्यादि ।

भन्न त थुप्रै कुरा भन्नुथियो, लघुकथामा सबैकुरा भन्न मिल्दैन । एउटा गुह्य कुरा चाहिँ सुनाइदिन्छु । नशाको तालमा गरेको गज्जबको बिजाइँ थियो त्यो । दुनियाँमा सायद कसैले पनि नगरेको उपद्रो गरेको थिएँ मैले । तीस वर्षअगाडिको घटना हो त्यो । जुनेली रातमा, भट्टीबाट हिरो साइकलमा डेरा फर्किँदै थिएँ । बालुवाटारबाट टुँडालदेवी पुग्ने गल्लीमा पर्खालले नघेरिएको पुरानो घरको दलानमा बडेमाको सिलौटो देखेँ । ट्वाल्ल हेरिरहेँ ! भान्छाको याद आयो । उबेला भान्छामा मिक्सर–ग्राइन्डर हुन्नथ्यो । चनौटोजत्रो सिलौटो भने थियो । पाहुना आएका बेलामा धनियाँ–गोलभेँडाको अचार पिँध्न सास्ती हुन्थ्यो ।

रक्सीका केही राम्रा गुणहरु पनि छन् । खाना पचाउँछ, रुचि बढाउँछ, अल्पावधिका लागि भए पनि तनाव घटाउँछ, आँटिलो र निडर बनाउँछ । निडर भएर दिमाग बोल्यो, ‘उठा !’ झण्डै दस किलोको सिलौटो र एक किलोजतिको लोहोरोलाई जुरुक्क उचालेर क्यारियरमा राखेँ । सनपाटको डोरीले काम्रो बाँधेकोझैँ बाँधेँ । र, लोहोरो–सिलौटोको अज्ञात धनीलाई मनमनै मनग्गे धन्यवाद दिँदै बाटो लागेँ ।

‘मापसे’पछि घटित हालसम्मकै उत्कृष्ट उपध्राईँ थियो त्यो । उक्त काण्डलाई चोरी भनेर मैले अहिलेसम्म पनि स्वीकार्न सकेको छैन । लोहोरो–सिलौटोको जोडी अद्यापि बैँसालु छन् । उही जोस र जाँगरका साथ उम्दा सेवा प्रदान गरिरहेका छन् । तिनलाई हेर्दा मन तुष्ट हुन्छ ।