Rumpum Advertisement
Dazzu

मेरो नतिजा खोसियो : ट्रम्प

मेरो नतिजा खोसियो : ट्रम्प

विराटनगर, २२ कात्तिक । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा आफ्नो नतिजा खोसिएको बताएका छन् ।

नतिजा खोसिएको गुनासो उनले गरिरहेका बेला र मतगणना अन्तिम चरणमा पुगिसक्दा राष्ट्रपतिका अर्का उम्मेदवार जो बाइडेनले महत्वपूर्ण राज्यहरुमा अग्रता कायम गरेका छन् ।
अमेरिकामा नोभम्बर ३ मा राष्ट्रपतिसहित सिनेट, हाउस अफ रिप्रिजेन्टेटिभ तथा राज्यका संसद एवम् स्थानीय तहका लागि मतदान भएको थियो ।

आफू पछि पर्दै गएपछि ‘धाँधली’को आरोप लगाएर केही राज्यमा मतगणना रोकिनु पर्ने माग गरेका ट्रम्पले अदालतको ढोका ढकढक्याएका छन् । तर अधिकांश मुद्दा प्रमाण नपुग्नेभन्दै अदालतले खारेज गरिदिएको छ ।

अहिले नर्थ क्यारोलाइना र अलास्का बाहेकका चार ‘ब्याटलग्राउड’ राज्यहरुमा बाइडेनले आफ्नो अग्रता कायम राखेका वा ट्रम्पलाई पछि पारेर अग्रता लिएका छन् । बाइडेनले २० तथा १६ लेक्टोरल कलेज मत रहेको पेन्सिलभेनिया र जर्जिया राज्यमा ट्रम्पलाई पछि पारेर अग्रता लिएका छन् । यस्तै उनले नेभाडा र एरिजोनामा आग्रता कामय राखेका छन् । एरिजोनामा उनको अग्रता केही कम भएको छ । नेभाडामा ६ र एरिजोनामा ११ इलेक्टोरल कलेज मत छ ।

चार वर्ष पहिले ट्रम्पले पेन्सिलभेनियामा ४४ हजार मतले जित हाँसिल गरेका थिए । अहिले बाइडेनले सो राज्यमा डेमोक्र्याटको पटक पुनः स्थापित गर्ने देखिएको छ । यस्तै उनले रिपब्लिकन राज्य एरिजोना र जर्जिया पनि जित हाँसिल गर्ने देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

मतगणना जारी रहँदा ‘आक्रोशी’ ट्रम्पले अधिकांश समय टेलिभिजन हेरिरहेको स्रोतहरुलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएको छ । ट्रम्पले नेपाली समय अनुसार शुक्रबार बिहान ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा वैध मतका आधारमा आफू विजयी भएको दाबी गरेका थिए ।

त्यसपछि उनले सामाजिक सञ्जालमा लगातार पोस्ट गरेर धाँधली तथा आफूबाट नतिजा छिनिएको आरोप लगाइरहेका छन् । अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार राष्ट्रपति ट्रम्पले लगाएका आरोपको प्रमाण खोजीका लागि उनको चुनावी अभियानले हटलाइन टेलिफोनको व्यवस्था गरेको छ ।

तर रिपब्लिकनकै सत्ता रहेका राज्यहरुमा पनि मतगणना जारी छ र त्यहाँ पनि बाइडेनले अग्रता लिएका छन् । पेन्सिलभेनियामा पराजित भएमा ट्रम्पको दोस्रो कार्यकाल ह्वाइट हाउसमा रहने सपना औपचारिक रुपमा सकिने छ ।

उनले मतगणना गर्ने कर्मचारीमाथि धाँधलीको आरोप लगाए । ट्रम्पले हुलाक मार्फत गरिएका मतदान अवैध रहेको आरोप लगाएका छन् । कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले हुलाक मार्फत वा अग्रिम मतदान केन्द्रमा गएर मतदान गरेका थिए ।

चुनावको दिन भएको मतदानमा अघि देखिएका राज्यमा ट्रम्प हुलाकबाट आएका मत गणना हुन थालेपछि पछि परेका हुन् । डेमोक्र्याटहरुले अग्रिम मतदान गर्न आफ्ना मतदातालाई आग्रह गरेका र रिपब्लिकनको तुलनामा डेमोक्र्याटहरुले कोरोना भाइरसको महामारीका कारण अग्रिम मतदान गरेका थिए ।

डमोक्र्याटिक उम्मेदवार बाइडेनले भने हरेक मत गणना हुनु पर्ने र जनताको आवाज सुनिनु पर्ने बताउँदै आएका छन् । ट्रम्पले भने ट्वीट गरेर जो बाइडेनलाई विजयी भएको घोषणा नगर्न चेतावनी दिएका छन् । उनले कानूनी प्रक्रिया सुरु मात्रै भएकाले आफूले पनि जितको घोषणा गर्ने भनेका छन् ।

अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ मध्ये २७० इलेक्टोरल कलेज मत चाहिन्छ । सो आँकडाको यात्रामा मतगणना जारी रहँदा बाइडेन अघि देखिएका छन् । न्यूर्योक टाइम्सका अनुसार अहिलेसम्म बाइडेनको पक्षमा २५३ तथा ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत रहेको छ । सिएनएनका अनुसार बाइडेनको पक्षमा २५३ र ट्रम्पको पक्षमा २१३ मत रहेको छ ।