Rumpum Advertisement
Dazzu

सरकारले कोरोना उपचारमा असुलेको रकम फिर्ता हुनुपर्छ : कानून व्यवसायी

सरकारले कोरोना उपचारमा असुलेको रकम फिर्ता हुनुपर्छ : कानून व्यवसायी

काठमाडाैं, २१ कात्तिक । सरकारले कोरोना उपचारको नाममा नागरिकबाट असुलेको शुल्क एकएक हिसाब गरेर फिर्ता गर्नुपर्ने अधिवक्ताहरूले बताएका छन् ।

सरकारले कोरोना संक्रमणको उपचारमा शुल्क लिने निर्णय गरेसँगै अदालतमा मुद्दा दायर गरेका अधिवक्ता लोकेन्द्र ओलीले अदालतले समेत शुल्क असुल्न नहुने आदेश दिइसकेको अवस्थामा सरकारले अहिलेसम्म लिएको शुल्क एकएक हिसाब गरेर फिर्ता गर्नुपर्ने बताएका हुन् ।

अधिवक्ता ओलीले संविधानले कुनैपनि सरुवा रोगलाई मौलिक हकको रूपमा राखेकाले कोभिड संक्रमणको उपचार सबै नागरिकलाई निःशुल्क हुनुपर्ने र सरकारले अहिलेसम्म लिएको शुल्क फिर्ता गर्नुपर्ने बताए ।

असोज १५ गतेयता सरकारले नागरिकबाट पीसीआर परीक्षणसहित उपचारको शुल्क असुल्ने काम गरिरहेकोले संविधानविपरीत काम गरेको पुष्टि हुने पनि ओलीले बताए ।

उनले भने, ‘अदालतले असोज १५ गते आदेश दियो शुल्क नलिनु भनेर । त्यसपछि पनि सरकारले लिइराखेको छ । अहिलेपनि कोही मान्छेहरूको पनि निःशुल्क भइराखेको छैन । सबै मान्छेहरूले २ हजार तिरेर पीसीआर परीक्षण गरेका छन् । उपचार गर्ने नाउँमा, अक्सिजन दिने नाउँमा लाखौं रुपैयाँ खर्च गरेर आफ्नो सम्पत्ति पनि नास गरेर, जीउ पनि नास हुने गरी मृत्यु भइराखेको खबर आइराखेका छन् । त्यसले गर्दा असोजको १५ गते भन्दा पछाडि सरकारले जसरी मान्छेहरूसँग शुल्क असुल्यो यो शुल्क एक एक गरेर राज्यले फिर्ता गर्नुपर्छ ।’

‘यदि कोही व्यक्ति बिरामी भएर वा नभएर परीक्षण गरेको छ र यति पैसा खर्च भयो भनेर आउनुहुन्छ भने उहाँहरू पीडित हो र उहाँहरूले राज्यबाट क्षतिपूर्ति पाउनुहुन्छ । पैसा नलिने भनेको थियो अदालतले तर पनि लियो । मुद्दा मामिलाका सन्दर्भमा अदालतले दिएको निर्णय र आदेश सबैले पालना गर्नुपर्छ भनिसकेपछि सरकारले पालना नगर्ने, प्रधानमन्त्रीले पालना नगर्ने, मन्त्रीले पालना नगर्ने भन्ने कुरा हुँदैन्,’ उनले भने ।

कुनैपनि सरुवारोगको उपचारलाई मौलिक हकको रूपमा संविधानको धारा ३५ मा उल्लेख छ । उक्त व्यवस्था कार्यान्वयनका लागि जनस्वास्थ्य सेवा ऐन पनि बनाइएको छ । जसमा सरुवा रोगको उपचार निःशुल्क हुनुपर्छ भन्ने व्यवस्था छ ।

तर सरकारले रातारात नियमावली बनाई नागरिकबाट शुल्क उठाउने काम गरेको उनले बताए । कानूनले निःशुल्क गरेको चिजमा शुल्क उठाउनु अपराध हुने पनि अधिवक्ता ओलीले बताए ।

कोभिडको उपचार सम्बन्धमा अदालतले समेत कुनै शुल्क लिन नहुने बताइसकेकाले शुल्क लिने सरकारको निर्णय अपराध भएको उनको भनाइ छ । उनले भने, ‘यता आदेश अयो निःशुल्क गर भनेर उनीहरू फेरि निर्णय गरेर शुल्क उठाउन थाले । त्यसपछि हामीहरुले फेरि के गर्यौं भने यिनीहरूले अदालतको आदेशभन्दा बाहिर गएर निर्णय गरेका छन् ।’

‘शुल्क नउठाउने भन्दा पनि उठायो । सरकारले एक किसिमको अपराध गर्यो । कानूनका दृष्टिकोणले कानूनले नलिनु भनेको चिज लिनु भन्ने कुरा कानूनको भाषामा र कानूनको शासन भएको देशमा अपराध ठहर्छ । सरकारले अहिले नागरिकहरूसँग जो मान्छे गरिब छ जो विपन्न छ, जो एकछाक खान सकेको छैन त्यस्ता मान्छेहरूलाई कोभिड उपचारको नाममा लाखौं रुपैयाँ असुली गरेको छ । त्यो भनेको अपराध हो । कृपया यो अपराध राज्यबाट नागरिक प्रति नगरौं,’ उनले भने ।

यसअघि सर्वोच्च अदालतले कोभिड १९ संक्रमणको उपचारमा शुल्क नलिन आदेश गरेको थियो । तर सरकारले नागरिकलाई वर्गीकरण गर्दै तिर्न सक्नेहरूबाट शुल्क लिने निर्णय गरेपछि अदालतको अवहेलना भएको सम्बन्धमा मुद्दा परेको छ । सोही मुद्दाको सुनुवाई गर्दै सर्वोच्च अदालतले सकरारलाई सात दिनभित्र अवहेलना नभएको सम्बन्धमा प्रमाण पेस गर्न आदेश पनि दिएको थियो ।

यता सरकारले भने सर्वोच्च अदालतले गरेको फैसलामा पुनरावलोकन गर्न दिएको निवेदनलाई सर्वोच्च अदालतको न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुसोत्तम भण्डारीको पूर्ण इजलासले खारेज गरिदिएको छ ।

यससँगै अबदेखि सरकारले कोरोनाको परीक्षण र उपचार सन्दर्भमा कुनैपनि शुल्क लिन नहुने अर्काे अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बताए ।

कोरोना सरुवारोग भएको कुरालाई संविधानको मौलिक हकले पुष्टि गरेको र त्यो कुरालाई सर्वोच्चको फैसलाले थप पुष्ट्याईं गरेकाले पनि त्यसको पालना सरकारले गर्नुपर्ने बताए ।

यदि सरकारले अदालतको फैसला पालना नगरे अवहेलनामा कारवाही हुने पनि ज्ञवालीले बताए ।

‘सर्वोच्च अदालतले फैसला गरेपछाडि अब सरकारले फैसला फालना गर्दिन भन्यो भने सरकारलाई सर्वोच्च अदालतको फैसला पालना नगरेको उपर अवहेलनामा कारवाही हुन्छ । दोस्रो अब आइन्दा हिजोको दिनबाटै कोहीपनि नेपाली नागरिकलाई कोरोना लाग्यो, संक्रमित भयो भने अब राज्यले उसलाई एक रुपैयाँ पनि उसको खल्तिबाट नलिइकन राज्यको कोषबाट छुट्याएर उसलाई लाख रुपैयाँ लाग्छ कि, हजार लाग्छ कि जति लाग्छ उसले क्वारेन्टाइनमा बस्दा आइसोलेशनमा बस्दा या भेन्टिलेटरमा बस्दा नेपाली नागरिकले अब एक रुपैयाँ खर्च गर्न पर्दैन ।’

अबपनि शुल्क तिर्नैपर्ने हो भने सर्वोच्च अदालतको फैसलाविपरीत हुने भएकाले अवहेलनामा कारवाही हुनसक्ने उनको भनाइ छ ।