Rumpum Advertisement

बिहारमा तेस्रो चरणको निर्वाचन, सीमावर्ती क्षेत्रमा सतर्कता

बिहारमा तेस्रो चरणको निर्वाचन, सीमावर्ती क्षेत्रमा सतर्कता

विराटनगर, २१ कात्तिक । भारतको बिहार राज्यमा शनिबार हुने तेस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गरेर प्रहरीले सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ । मोरङको सीमावर्ती क्षेत्रमा आवतजावतमा पूर्ण रूपमा रोक लगाउँदै नेपाल–भारत सीमा क्षेत्रमा सतर्कता अपनाएको हो ।

मोरङसँग सीमा जोडिएको विहारको अररीया जिल्लामा पनि निर्वाचन हुने भएपछि शुक्रबार बिहानैबाट उचित सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचनका बेला दुई देशबीचको सीमा नाका ७२ घण्टासम्म सिल गरिएको छ ।

निर्वाचनका बेला कुनै पनि घुसपैठ र अपराधिक घटना हुन नदिन सीमा क्षेत्रमा निगरानी बढाएर सुरक्षा कडाई गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

बिहीबार साँझबाटै सीमामा कडाई गरेको उनले बताए । निर्वाचनका समयमा सीमा क्षेत्रमा निगरानी बढाएर कडाई गर्न भारतीय पक्षले नेपाली सुरक्षाकर्मीलाई पटकपटक आग्रह गरिसकेका छन् । निर्वाचनमा घुसपैठ नहोस् र कुनै पनि अपराधिक घटना गरेर नेपालतर्फ अपराधी भाग्न नसकुन् भनेर भारतीय पक्षले चुनावका बेला सधैं नेपाली सुरक्षाकर्मीको साथ लिँदै आएको छ ।

नेपाल तथा भारतीय भूमिमा निर्वाचनलाई लक्षित गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपालमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षा प्रदान गरिरहेको छ ।

एसपी खड्काले नेपालमा पनि निर्वाचन भएका समयमा भारतीय सुरक्षाकर्मीले सीमामा कडाई गरेर सहयोग गर्ने गरेका कारण नेपाली सुरक्षाकर्मीले पनि आफ्नो भूमिमा सुरक्षा प्रदान गरेर उताको निर्वाचनलाई सहयोग गरेको बताए ।

निर्वाचन नसकिएसम्म भारतसँग सीमा जोडिएको मोरङको ६३ किलोमिटर क्षेत्रलाई नेपाली सुरक्षाकर्मीले उच्च निगरानीमा रहने उनको भनाइ छ ।

एसपी खड्काले आवश्यक परेका बखत नेपाल र भारतका सुरक्षाकर्मीबीचको समन्वय र सहयोग आदानप्रदानले सीमा क्षेत्रमा हुने अवैध गतिविधि र अपराध नियन्त्रणमा मद्धत पुग्ने बताए ।

बिहारको विधानसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाउन र सुरक्षामा कुनै पनि कमजोर हुन नदिन प्रदेश १ का नेपाल प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्की र सशस्त्र प्रहरी प्रमुख डीआईजी वंशीराज दाहालले निर्देशन दिइसकेका छन् ।

निर्वाचनकै कारण विराटनगर भन्सार कार्यालयको काममासमेत असर परेको छ । शुक्रबार दिउँसोबाट भारतदेखि मालबहाक सवारीसाधन आएका छैनन् । नेपालबाट पनि खाली वा लोड भएका मालबहाक सवारी साधन नपठाउन भारतीय पक्षले अनुरोध गरेको छ ।

भन्सार प्रमुख शिवप्रसाद भण्डारीले कार्यालयको काममा शनिबार साँझसम्म निर्वाचनको असर पर्न सक्ने जानकारी दिए ।

आयात-निर्यात नै बन्द हुँदा भन्सारको काम प्रभावित हुने उनको भनाइ छ । नेपालबाट मालबहाक सवारी साधन नगए पनि शुक्रबार दिउँसोसम्म भारतीय पक्षले भने सामान लोड गरेका गाडीहरु नेपालतर्फ पठाइरहेको थियो । शनिबार साँझबाट भने आयात निर्यात यथावत हुने जानकारी भण्डारीले दिए ।

कोरोना संक्रमणका कारण गत चैत ११ गतेबाट नेपाल सरकारले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेकाले भन्सारको कामबाहेक अरु सबै काम बन्द नै थियो । यहीबीचमा केही दिन अगाडि भारतले सीमा नाका खोले पनि नेपालतर्फ भने खुल्ला गरिएको थिएन ।