Rumpum Advertisement
Dazzu

विराटनगरमा लहरीले टेम्पेलाई ठक्कर दियाे : एकको मृत्यु, दुईको अवस्था गम्भीर

विराटनगरमा लहरीले टेम्पेलाई ठक्कर दियाे : एकको मृत्यु, दुईको अवस्था गम्भीर

विराटनगर, २१ कात्तिक । विराटनगर महानगरपालिका– ३ दूधफारम नजिक भारतीय नम्बरको लहरीले अटो टेम्पोलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा एक पुरुष र एक महिला गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परेर मृत्यु भएकी अन्दाजी ३५–४० वर्षीया महिलाको पहिचान खुलेको छैन । उनको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये पुरुष अटोका चालक विराटनगर १३ का ४५ वर्षीय वीरबहादुर श्रेष्ठ हुन् । गम्भीर अवस्थाकी घाइते महिलाको पहिचान खुलेको छैन । दुवै घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरीको दुहवीतिरबाट आउँदै गरेका एनएल ०२–एन ४४८७ नम्बरको भारतीय लहरीले सडक पार गर्दै गरेकाे को २ ह २८१२ नम्बरको अटो टेम्पोलाई दूधफारम नजिकै ठक्कर दिएको थियो ।

प्रहरीले तीव्र गतिमा रहेको लहरीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको जनाको छ । दुर्घटनाबाट टेम्पोमा पूर्ण रुपमा क्षति पुगेको छ भने लहरी सडकबाट पल्टिएर खेतमा पुगेको छ ।

प्रहरीले लहरीका चालक भारत मजफपुरका २४ वर्षीय देवेन्द्र सहनी र सहचालक २९ वर्षीय मिथुन कुमारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।