Rumpum Advertisement
Dazzu

अबैध सुनका गहना र साढे ६ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय नागरिक पक्राउ

अबैध सुनका गहना र साढे ६ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय नागरिक पक्राउ

विराटनगर, २१ कात्तिक । सशस्त्र प्रहरीले अवैध नेपाली रुपैयाँ र सुनका गहनासहित एकजनालाई पक्राउ गरेको छ । विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट भारत विहारको अररीया जिल्ला जोगवनी–१३ का २५ वर्षीय दीपककुमार भगतललाई पक्राउ गरेको हो ।

उनको साथबाट छ लाख ६२ हजार छ सय ५० रुपैयाँ र २९० ग्राम सुनका गहना बरामद भएको छ । भारत विहार राज्यमा शनिबार हुन लागेको विधानसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल मोरङका प्रहरी उपरीक्षक तीर्थ पौडेलले विराटनगर महानगरपालिका–१७ इस्लामपुरबाट बिहीबार साँझ भगत पक्राउ परेको बताए ।

भगतले खुट्टामा टेपले बाँधेर लुकाईछिपाई ल्याएको अवस्थामा नेपाली रुपैयाँ र कट्टु भित्र लुकाएर ल्याएको अवस्थामा सुनका गहना बरामद भएको हो । सशस्त्रले उक्त रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने अनुमान गरेको छ ।

सुनका गहनामा ३७ पिस लकेट, चार पिस ब्रासलेट, १० पिस झुम्का र दुई पिस चुरा रहेको उनको भनाइ छ । सुन २४ लाख १२ हजार मूल्य बराबरको रहेको एसपी पौडेलको भनाइ छ ।

नेपालबाट तस्करी भएर भारततर्फ लगिएको सुन गहना बनाएर फेरि नेपालतर्फै ल्याउने परम्परा छ । अवैध रकम र सुनका गहनासहित भगतलाई शुक्रबार आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।