Rumpum Advertisement
Dazzu

आईपीएल इलिमिनेटर : बैंग्लोर भर्सेज हैदराबाद

आईपीएल इलिमिनेटर : बैंग्लोर भर्सेज हैदराबाद

२१ कात्तिक, विराटनगर । २०२० आईपीएल यात्रामा उतारचढाव सहित मिश्रित नतिजा आत्मसाथ गरेका दुई टोलीः रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदराबाद आज इलिमिनेटरमा एकअर्कावरुद्ध मैदान उत्रदैछन् ।

आईपीएल समूह चरणका चौधमध्ये आ–आफ्ना समान सात–सात खेल जितेका दुवै टोलीले नेट रन रेटमा कोलकतालाई पछि पार्दै प्लेअफमा स्थान पक्का गरेका हुन् ।

हैदराबाद, बैंग्लोर र कोलकताको समान चौध अंक रहे पनि नेट रन रेटको आधारमा अंकतालिकामा हैदराबाद तेस्रो, बैंग्लोर चौथो र कोलकताले पाँचौ स्थानमा रहदै लिग चरणका खेल सिध्याएका थिए ।
पहिलो राउण्ड रोबिन लिगमा उत्कृष्ट प्रदर्शन गरेको बैंग्लोर सातमध्ये दुई खेलमा मात्रै पराजित भएको थियो । तर दोस्रो राउण्ड रोबिन लिगका सातमध्ये दुई खेलमा मात्रै जित निकाल्न सफल भएको बैंग्लोर अन्तिम खेलमा दिल्लीसँग ६ विकेटले पराजित भएपनि नेट रन रेटमा कोलकताभन्दा माथि रहन सफल भएपछि इलिमिनेटरको लागि छनौट भएको थियो ।

यता हैदराबादले भने पहिलो राउण्ड रोबिन लिगमा गतिलो प्रदर्शन गर्न सकेको थिएन । सुरुवाती सातमध्ये चार खेलमा हार भोगेको हैदराबादले दोस्रो राउण्ड रोबिन लिगका अन्तिम पाँच खेलमा भने उत्कृष्ट प्रदर्शन गरेको थियो । पछिल्ला पाँचमध्ये चार खेलमा जित निकाल्न सफल भएको हैदराबादले ‘गर या मर’को स्थितीमा आफ्नो अन्तिम खेलमा मुम्बईलाई दश विकेटले हराउदै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

आज यी दुईबीच हुने इलिमिनेटरमा विजयी हुने टोलीले फाइनल प्रवेश लागि दोस्रो क्वालिफायरमा दिल्लीविरुद्ध आईतबार शेख जायद रंगशालामा खेल्नुपर्नेछ । हिजो सम्पन्न भएको पहिलो क्वालिफायरमा मुम्बईले दिल्लीलाई ५७ रनले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

बैंग्लोर र हैदराबादले आईपीएल ईतिहासमा हालसम्म एकअर्काविरुद्ध १७ खेल खेलिसकेका छन् । जारी संस्करणका दुई र अघिल्ला संस्करणका पन्ध्र गरी खेलिएका १७ मध्ये हैदरबाादले नौ खेलमा जित निकालेको छ भने बैंग्लोर सात खेलमा मात्रै सफल भएको छ । यी दुईबीच २०१७ आईपीएलको एक खेल भने वर्षाका कारण रद्द गरिएको थियो । यी दुईबीचको पछिल्ला ६ खेलको नतिजाले बैंग्लोरविरुद्ध हैदराबादलाई बलियो स्थितीमा देखाउँछ । पाँचमध्ये तीन खेलमा जित निकालेको हैदरबाद बैंग्लोरसँग दुई खेलमा मात्रै पराजित भएको छ ।

जारी संस्करणको समूह चरणमा एकअर्काविरुद्ध दुई खेल खेलिसकेका यी दुईले एक–एक खेल आ–आफ्नो पक्षमा पार्न सफल भएका छन् । आईपीएलको पहिलो राउण्ड रोबिन लिग अन्तर्गत तेस्रो खेलमा भएको यी दुईबीचको पहिलो भेटमा हैदराबादलाई बैंग्लोरले १० रनले पराजित गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले पाँच विकेट गुमाउदै एक सय ६४ रनको विजयी लक्ष्य हैदराबादसामु प्रस्तुत गरेको थियो । बैंग्लोरका लागि देवदत्त पाडिक्कल र एबी डी भिलियर्सले अर्धशतकिय पारी खेलेका थिए । यी दुईबाहेक आरोन फिन्चले २९, कप्तान कोहलीले १४ र शिवम दुबेले सात रनको योगदान दिएका थिए ।

बैंग्लोरलाई मध्यम लक्ष्यमा रोक्न हैदराबादका टी नटराजन, विजय शंकर र अभिषेक शर्माले समान एक–एक विकेट लिएका थिए । बैंग्लोरका विष्फोटक ब्याट्सम्यान एबी डी र शिवम दुवे भने रन आउटको शिकार भए ।

जवाफी ब्याटिङका लागि आएको हैदराबादले सुरुवातमै झट्का व्यहोरेको थियो । आफ्ना कप्तान वार्नर ६ रनमै पेभिलियन फर्किए पछि धर्मराएको उसको इनिङ्स जोनी बेयरस्टो र मनिष पाण्डेले सम्हालेका थिए । तर बेयरस्टो ६१ र पाण्डे ३४ रनमा आउट भएपछि भने हैदरबाद सम्हालिन सकेन र पराजित भयो । हैदराबादको ब्याटिङ ध्वस्त बनाउन बैंग्लोरका युजवेन्द्र चाहलले तीन, नवदिप शैनी र शिवम दुवेले समान दुई र डले स्टेइनले एक विकेट लिएका थिए ।

पहिलो खेलमा बैंग्लोरसँग १० रनको हार भोगे पनि दोस्रो खेलमा भने हैदराबादले बदला लिँदै पाँच विकेटको जित दर्ता गरायो । आईपीएलको ५२औं खेलमा शारजाहमा भेट भएका यी दुईमध्ये हैदराबादले टस जित्दै बैंग्लोरलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । २० ओभर पूरै खेल्दै सात विकेटको क्षतिमा बैंग्लोरले हैदराबादलाई एक सय २१ रनको सामान्य लक्ष्य दिएको थियो ।

हैदराबादको बलिङ सामु निरिह देखिएका बैंग्लोरका ब्याट्सम्यानमध्ये जोस फिलिप्स सर्वाधिक रन बनाउने खेलाडी बने । फिलिप्सले ३२, एबी डीले २४, सुन्दरले २१ बनाउनु बाहेक बैंग्लोरका अन्य पाँच ब्याट्सम्यानले व्यक्तिगत रन पन्ध्रभन्दा बढि बनाउनै सकेनन् । निकै किफायती बलिङ गर्ने क्रममा हैदराबादका पाँचै जना बलरले बैंग्लोरविरुद्ध विकेट लिन सफल रहे । सन्दिप शर्मा र जेसोन होल्डरले दुई–दुई विकेट लिएको इनिङ्समा टी नटराजन, शहवाज नदिम र रासिद खान एक–एक विकेट लिन सफल भए ।

जवाफी ब्याटिङका लागि आएको हैदराबादको युजवेन्द्र चाहलले दुई, आइसुरु उडाना, नवदिप शैनी र वासिंगटन सुन्दरले एक–एक विकेट लिए पनि बैंग्लोरलाई हारबाट जोगाउन सकेनन् । हैदरबादका कप्तान वार्नर यस पटक पनि सस्तैमा समेटिए । बैंग्लोरविरुद्धको पहिलो भेटमा ६ रनमा पेभिलियन फर्किएका वार्नर यस पटक भने आठ रनमा आउट भए ।

वार्नर कम स्कोरमा पेभिलियन फर्किए पनि नियमित विकेटकिपर बेयरस्टोको स्थानमा आएका क्रिद्धिमन शाह र मनिष पाण्डेले गतिलो साझेदारी गरेपछि सामान्य लक्ष्य पाएको हैदराबादले बैंग्लोरविरुद्ध जित दर्ता गर्न सफल भयो । हैदराबादका लागि शाहले ३९, पाण्डे र होल्डरले समान २६ र केन विलियमसन र अभिषेक शर्माले आठ–आठ रनको योगदान दिएका थिए ।

अनुभवी कप्तान कोहली र त्यस्तै अनुभवले निखारिएका कप्तान वार्नरले सम्हालिरहेको टोलीमा प्रभावशाली खेलाडीको कुनै कमी छैन । उत्कृष्ट, अनुभवी र कुशल खेलाडीले भरिपूर्ण रहेका दुवै टोलीमध्ये आजको खेलमा जित निकाल्दै को दोस्रो क्वालिफायरमा पुग्ने हो त्यसको लागि हामीले खेलको नतिजा कुर्नु पर्ने हुन्छ ।

पाँच सय २९ रन बनाएर जारी आईपीएलमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडीका रुपमा खेलिरहेका वार्नरलाई साथ दिन उनको टोलीमा रासिद खान छन् । १४ खेलमा १९ विकेट लिइसकेका खान प्रतियोगिताकै उत्कृष्ट बलिङ इकोनिमी भएका खेलाडी हुन । यी दुईबाहेक टोलीमा मनिष पाण्डे तीन सय ८०, जोनी बेयरस्टो तीन सय ४५, क्रिद्धिमन शाह दुई सय १४ र केन विलियमसन दुई सय रन बनाएर आईपीएल खेलिरहेका छन् ।

त्यस्तै बलिङ लाइन–अपमा खानसँगै सन्दिप शर्मा १३, टी नटराजन १४, जेसोन होल्डर दश, खलिल अहेमद आठ, शेहबाज नदिम र विजय शंकर चार, अभिषेक शर्मा दुई र सिद्धार्थ कौल पनि दुई विकेट लिएर आईपीएल खेलिरहेका छन् ।

यता बैंग्लोरको स्क्वाडमा भने युजवेन्द्र चाहल १४ खेलमा २० विकेट लिएर पर्पल क्यापको दाबेदारी प्रस्तुत गरिरहेका छन् । बैंग्लोरका मुख्य हतियार साबित भइरहेका चाहल बाहेक बैंग्लोरको बलिङ लाइन–अपका क्रिस मोरिस ११, मोहम्मद शिराज नौ, वासिंगटन सुन्दर आठ, आईसुरु उडाना आठ, नवदिप शैनी ६ र शिवम दुवेले चार विकेटको योगदान दिइसकेका छन् ।

आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीको शीर्ष दशमा बैंग्लोरका दुई ब्याट्सम्यान छन् । चार सय ७२ रनसहित देवदत्त पाडिक्कल छैटौं स्थानमा छन् भने कोहली चार सय ६० रनको साथ आठौ स्थानमा छन् । यी दुई बाहेक एबी डी तीन सय ९८, फिन्च दुई सय ३६, दुवे एक सय २१ र सुन्दर एक सय ६ रन बनाएर आईपीएल खेलिरहेका छन् ।