Rumpum Advertisement
Dazzu

कमल थापाले भने – नेपाल नामअघि विशेषण जोड्नु आवश्यक थिएन

कमल थापाले भने – नेपाल नामअघि विशेषण जोड्नु आवश्यक थिएन

काठमाडौं, २१ कात्तकि । सरकारले मन्त्रिपरिषदबाट देशको नाम ‘संघीय लोकतान्तिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समर्थन जनाएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले देशको नाम ‘नेपाल’अगाडि विशेषण जोड्न आवश्यक नभएको बताए ।

मन्त्रिपरिषदको ११ असोजमा बसेकाे बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेकाे थियो । सोही निर्णयअनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न मातहत निकायमा परिपत्र जारी गरेको थियो ।

सरकारको यस निर्णयप्रति जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका थिए ।

तर, कमल थापाले भने देशको नाम ‘नेपाल’अगाडि विशेषण जोड्न आवश्यक नभएको बताए ।

उनले भनेका छन्, ‘संघीयता र गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होइन, प्राचीनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो । नामको अगाडि विशेषण जोड्नु आवश्यक थिएन । सरकारको निर्णय ठीक छ । नाम अगाडि रहेका विशेषण हटाउँदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ, ती मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ ।’