Rumpum Advertisement
Dazzu

संक्रमित बालक र वृद्धाको बीपीमा मृत्यु

संक्रमित बालक र वृद्धाको बीपीमा मृत्यु

विराटनगर, २१ कात्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्धा महिला र एक बालकको मृत्यु भएको छ ।

वृद्धा धरान र बालक उदयपुरका हुन् । उदयपुरको कटारीका १४ वर्षीय बालकको शुक्रबार बिहान ९ः५० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार विराटनगरको नोबेल शिक्षण अस्पतालले थप उपचारका लागि रेफर गरेपछि बालकलाई कात्तिक १६ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा कात्तिक १२ गते बालकको रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यस्तै सुनसरीको धरान–१२ की ७८ वर्षीया वृद्धा महिलाको पनि उपचारका क्रममा बिहीबार राति ११ बजेतिर मृत्यु भएको छ । डा. श्रेष्ठका अनुसार पीसीआर परीक्षण गराउँदा वृद्धामा बिहीबार नै कोरोना पुष्टि भएको थियो । कोरोना रिपोर्ट पोजेटिभ आएपछि कोभिड अस्पतालमा भर्ना गरिएकी महिलाको उपचारका क्रममा ज्यान गएको उनले बताए ।