Rumpum Advertisement
Dazzu

रियल मड्रिडलाई बायर्नका अलाबाको प्रस्ताव

रियल मड्रिडलाई बायर्नका अलाबाको प्रस्ताव

विराटनगर, २१ कात्तिक । युरोपियन च्याम्पियन बायर्न म्युनिखका डिफेन्डर डेभिड अलाबाले रियल मड्रिडलाई प्रस्ताव राखेका छन् । स्पेनिस मिडिया मार्काका अनुसार अष्ट्रियन खेलाडी अलाबाले रियललाई केही दिनअघि प्रस्ताव राखेका हुन् ।

रियलले सन् २०११ मा प्रतिद्वन्द्वी क्लब होफेनहमबाट बायर्न आएका अलाबालाई अनुबन्ध गर्ने मनसाय बनाएको छ । २८ वर्षीय अलाबा र बायर्नबीचको सम्झौता जुन २०२१ मा सकिँदैछ ।

बायर्नसँग नयाँ सम्झौताका लागि छलफल भए पनि उनी सफल हुन नसकेको बताइएको छ । बायर्नले नै अलाबासँग सम्झौता थप्न इच्छा नदेखाएको बताइन्छ । यस्तैमा स्पेनिस च्याम्पियन रियलले उनीमाथि नजर लगाएको हो ।

यता, अलाबाले भने रियललाई प्रतिवर्ष करिब २० मिलियन युरो तलब दिन प्रस्ताव गरेका छन् । उनका एजेन्ट पिनी जाहभीले रियललाई अलाबाको इच्छाअनुरुप तलब भएमा सरुवा सम्भव हुने बताएका हुन् ।

अलाबा रियल मड्रिडसँग जोडिएको यो पहिलो पटक भने होइन । अगाडिदेखि नै रियलसँग जोडिए पनि पारिश्रमिकको विषयमा कुरा नमिल्दा उनको स्पेन सरुवा हुन नसकेका बताइएको छ ।