Rumpum Advertisement
Dazzu

पशुपालन गर्ने प्रचलन घटेपछि खेती गर्न गोरुको अभाव

पशुपालन गर्ने प्रचलन घटेपछि खेती गर्न गोरुको अभाव

रुकुमपूर्व, २१ कात्तिक । रुकुमपूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा पछिल्लो समय गाई, भैंसी, गोरु पाल्न क्रम घट्दै गएको छ । पशुपालन गर्ने प्रचलन घटेका कारण अहिले खेतीपाती लगाउने समयमा गोरु खोज्दैमा कृषकहरू हैरान भएका छन् भने खेतबारीमा रासायनिक मलको अत्यधिक प्रयोग हुन थालेको छ ।

प्रायः सबै स्थानीयवासीले धेरथोर खेतीपाती गर्दछन् तर गोरु गाउँभरिमा पाँच-सात हल मात्र हुँदा गोरु खोज्दै र पालो कुर्दैमा समयमा खेतीपाती गर्न समस्या भएको छ ।

खेतीपाती गर्ने एक याममा एक हल गोरूले चार गाउँ धानेका छन् । सिस्ने गाउँपालिका—६ का तिलक रेउले भास्करले यस वर्ष अर्कैको गोरु भाडामा लिएर खेती लगाएका छन् ।

गोरुको रु. एक हजार र हलीको रु. एक हजार तिरेर उनले गहुँ लगाएका छन् । उनी मात्र होइन, यसरी गोरु खोज्दै भाडामा लिएर खेती लगाउनेहरू थुप्रै छन् ।

सबैले गोरु पाल्न छोडेपछि पछिल्लो समय गोरुहरु पनि भनेको बेलामा नपाइने उनको भनाइ छ ।

यस्तै सिस्ने गाउँपालिका—५ रुमालबाराका आइते कामीका एक हल गोरु छन् ।

उनका गोरुले रुमालबारासहित टाकुरा, बाहुनठाना, बाहुनडेरालगायतका ठाउँमा खेतीपाती लगाउने गरेका छन् ।

जिल्लामा कृषिका लागि अझै पनि आधुनिक प्रविधि भित्रिनसकेकाले किसानहरू परम्परागत रूपमा खेतीपाती गर्न बाध्य छन् ।