Rumpum Advertisement
Dazzu

देवताप्रति आस्थाका कारण गाउँभरि नै मदिरा बन्द

देवताप्रति आस्थाका कारण गाउँभरि नै मदिरा बन्द

जाजरकोट, २१ कात्तिक । डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँमा देवताप्रति आस्थाका कारण मदिरा शून्य भएको छ ।

सबै स्थानीय बासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र रक्सीको उत्पादन तथा बिक्री वितरण नै बन्द भएको हो । मदिरा शून्य भएपछि गाउँबस्ती पनि शान्त भएको छ ।

तेत्तीस घरधुरी भएको सो बस्तीमा कोही कसैले मदिरा उत्पादन तथा सेवन नगर्न देवताले नै आग्रह गरेपछि यस्तो भएको बताइएको छ ।

पहिलेदेखि मान्दै आएका कुल देवताहरुले मदिरा सेवन तथा बेचविखन गर्दा राम्रो नहुने भनेपछि पछिल्लो दुई वर्षदेखि मदिरा बन्द भएको पुजारी रामबहादुर बोहोराले जानकारी दिए ।

वडा सदस्य मुनलाल बूढाले भने, ‘पहिले मदिरा सेवन गर्ने, होहल्ला गर्ने, घरमा दिनहुँ झैझगडा हुने, र विभिन्न घरेलु हिंसा हुन्थ्यो तर देवताले नै सबै रोक्न लगाएपछि अहिले सबै शान्त भएको छ ।’

सबै क्षेत्रीको मात्र बसोबास रहेको यो बस्तीमा पहिले मदिरा सेवन गर्नेहरूलाई पनि अहिले देवता प्रकट भएपछि एक किसिमको सकारात्मक सन्देश बाहिर गएको स्थानीय बासिन्दाहरूले बताउने गरेका छन् ।

धर्म संस्कृति बचाउन पुर्खादेखि पूजाआजा गर्दै आएका स्थानीयहरूले यो गाउँलाई मदिराको हिसाबले जिल्लाकै नमूना गाउँ बनाएका छन् ।

देवताहरूले गाउँमा अन्नबाली छर्दा, भित्र्याउँदा तथा अन्य शुभ कार्यका लागि संस्कार निर्माण गरेको स्थानीयवासीको भनाइ छ । रासस