Rumpum Advertisement
Dazzu

महानगर र उपमहानगरमा सहसचिवको दरबन्दी

महानगर र उपमहानगरमा सहसचिवको दरबन्दी

विराटनगर, २१ कात्तिक । अब सबै महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव हुने भएका छन् ।

काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत विशिष्ट श्रेणी (सचिव) रहने व्यवस्था थियो तर अब सहसचिव नै रहने छन् । असोज अन्तिममा बसेको मन्त्रिपरिषद्को निर्णयले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि सहसचिव नै रहने निर्णय गरेसँगै अब सबै महानगरपालिकाका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव नै रहने भएका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिले काठमाडौँबाहेक ललितपुर, भरतपुर, विराटनगर, वीरगञ्ज र पोखरा महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहसचिव नै रहँदै आएको जनाएको छ ।
त्यस्तै, उपमहानगरपालिकाहरू धरान, इटहरी, जनकपुर, कलैया, जितपुर सिमरा, हेटौँडा, बुटवल, तुलसीपुर, घोराही, नेपालगञ्ज र धनगढी गरी ११ वटै उपमहानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत सहसचिव नै छन् ।

काठमाडौँ महानगरपालिका पुरानो र देशकै सङ्घीय राजधानीको महानगरपालिका भएकाले काम गर्न थप सहजता होस् भनेर सरकारले सचिवलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो । तर काम गर्ने क्रममा सचिवभन्दा सहसचिवबाट अझ सहजता हुने देखिएकाले सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहसचिव राख्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ