Rumpum Advertisement

आर्सनलको लगातार तेस्रो जित

आर्सनलको लगातार तेस्रो जित

विराटनगर, २१ कात्तिक । युरोपको दोस्रो ठूलो फुटबल प्रतियोगिता युरोपा लिगमा इंग्लिस क्लब आर्सनलले सहज जित निकालेको छ ।

बिहीबार राति भएको समूह चरणको तेस्रो खेलमा आर्सनलले नर्वेको क्लब मोल्डेमाथि ४–१ गोलको जित दर्ता गरेको हो ।

आर्सनलको मैदान मोल्डेले सुरुआती अग्रता बनाएको थियो । खेलको २२औं मिनेटमा मार्टिन इलिङ्सेनले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।

पहिलो हाफको इन्ज्युरी समयमा मोल्डेका क्रिस्टोफर हाउगेनले आत्मघाती गोल गरेपछि आर्सनल खेलमा फर्किएको थियो ।

६२औं मिनेटमा मोल्डेका शेरिफ शिन्यानले आफ्नो पोस्टमा गोल गरेका थिए । उनको आत्मघाती गोलमा आर्सनलले २–१ गोलको अग्रता बनायो ।

६९औं मिनेटमा निकोलास पेपेले गोल गर्दै आर्सनललाई ३–१ गोलको अग्रता दिलाए भने ८८औं मिनेटमा जोय विललकले गोल गरेपछि आर्सनलले ४–१ गोलको सहज जित निकालेको हो ।

यससँगै आर्सनलले लगातार तेस्रो जित निकालेको छ । समूह ‘बी’मा रहेको आर्सनलले ९ अंक जोडेको छ भने मोल्डे ६ अंकसहित दोस्रो स्थानमा छ ।