Rumpum Advertisement
Dazzu

जडीबुटीले फेरियो गाउँको मुहार

जडीबुटीले फेरियो गाउँको मुहार

विराटनगर, २१ कात्तिक । खेर गइरहेको स्थानीय जडीबुटीले हुम्लाको नेक्पा गाउँको मुहान फेरिदिएको छ ।

जडीबुटी सङ्कलन गरेर यहाँका स्थानीयवासीले घरको छाना नै बदल्नुका साथै पठनपाठनको गर्जो समेत टार्न सफल भएका छन् । यहाँको जङ्गलमा पाइने जटामसी, कुट्खी, सेतकचिनी जस्ता जडीबुटीले स्थानीयवासीको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याइदिएको हो ।

जडीबुटीको सङ्कलनबाट हुम्लाकै दुर्गम नेक्पा बस्तीमा बर्सेनि खरका छाना हटाउने क्रम जारी रहेको स्थानीय धनबहादुर तामाङले जानकारी दिए । स्थानीयवासीले जङ्गलमा पाइने जडीबुटी सङ्कलन गरेर नेपालगञ्जबाट आउने व्यापारीलाई बिक्री गर्छन् । उच्च हिमाली भेगमा पाइने यी मूल्यवान् जडीबुटी विदेश निर्यात हुने गर्छ ।

तामाङले गाउँमा अन्न उत्पादन राम्रै हुने भए पनि कमाइको मुख्य स्रोेत जडीबुटी भएपछि घरमा जस्तापाताका छाना लगाउन थालेको बताए । याममा घरका काम गर्न सक्ने सबैजना जडीबुटी सङ्कलन गर्न जाने भएकाले त्यसबाट दह्रो कमाइ गर्न सकिने उनको भनाइ छ  । भदौ अन्तिमदेखि हिउँदभर स्थानीय बासिन्दा जडीबुटी सङ्कलनमा लाग्छन् । जसबाट एक परिवारले वर्षमा सातदेखि आठ लाख रुपैयाँ आम्दानी गर्ने गरेको स्थानीयवासी बताउँछन् ।

वडाध्यक्ष भैरव तामाङ नेक्पामा परिवर्तन ल्याउन जडीबुटीको कमाइको महत्वपूर्ण योगदान रहेको बताउँछन् । कुल ६६ घरधुरी रहेको नेक्पा गाउँमा ४६ घरधुरी दुई वर्षमा खरका छाना हटाएर जस्तापाताले छाउन सफल भएको उनले बताए । शिक्षा, स्वास्थ्यका केही सुविधा गाउँमा पुगेको भए पनि अन्य धेरै कुरा उक्त गाउँमा पुग्न नसकेकाले तीनै तहको सरकारले यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ