Rumpum Advertisement
Dazzu

तिहार र छठमै चिनी अभाव

तिहार र छठमै चिनी अभाव

विराटनगर, २१ कात्तिक । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने भएको छ । जसका कारण नजिकिँदै गरेको तिहार र छठमा चिनी अभाव हुने भएको छ ।

१२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३० हजार मेट्रिक टन चिनी आयात गर्न जिम्मेवारी दिए पनि खाद्य व्यापार कम्पनीले समयमै चिनी ल्याउन नसकेको हो । त्यसबेला सरकारले ५० प्रतिशत भन्सार महसुल छुटमा खाद्य व्यापार कम्पनीलाई १० हजार र साल्ट ट्रेडिङलाई २० हजार टन चिनी आयात गर्न स्वीकृति दिएको थियो  । सरकारले दिएको सो स्वीकृतिअनुसार साल्ट ट्रेडिङले सहुलियत चिनी ल्याइरहेको छ । तर, खाद्य व्यापार कम्पनीले चिनी आयात गर्ने कम्पनीसमेत टुंगो लगाउन सकेको छैन ।

खाद्य व्यापार कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले खाद्यले चिनी आयात गर्नकै लागि गरिएको टेन्डरमा कुनै कम्पनी इच्छुक नभएकाले चिनी ल्याउन समस्या भएको बताए । महाप्रबन्धक खनालले अहिले टेन्डर आह्वान गरेर परिहाले पनि खाद्य कम्पनीको सहुलियत चिनी आउन करिब तीन महिना लाग्ने बताए ।

साल्ट ट्रेडिङका विभागीय प्रमुख ब्रजेशकुमार झाका अनुसार साल्टले २० हजार टन चिनी सहुलियतमध्ये ५ हजार टन ल्याइसकेको छ । तिहार र छठसम्ममा थप ५ हजार टन चिनी ल्याइसक्ने उनले बताए ।

उनले सरकारले सहुलियतमा आयात गर्न आफूहरूलाई दिएको अनुमतिअनुसार निरन्तर आइरहेको जानकारी दिए । साल्टसँग अहिले मौज्दात चिनी भएपछि निजी व्यापारीलाई प्रतिकिलो ७७ रुपैयाँ २० पैसामा बिक्री गरिरहेको उनले जानकारी दिए । निजी व्यापारीले भने थोकमा नै प्रतिकिलो ८१ देखि ८३ रुपैयाँसम्म लिइरहेका छन् । तिहार र छठपर्व नजिकिँदै जाँदा व्यापारीले थोकमै चिनीको मूल्य बढाएका छन् । आजको राजधानी दैनिकमा समाचार छ