Rumpum Advertisement
Dazzu

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी उपाधि

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी उपाधि

विराटनगर, २१ कात्तिक । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ ।

नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सो उपाधि प्रदान गरेकी हुन् । यो उपाधि पाउने रनवणे भारतीय सेनाका १८औं प्रमुख हुन् । विगत सात दशकदेखि दुई मुलुकका सेनाबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएकोमा सेनाध्यक्ष नरवणेलाई सो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

उपाधि प्रदानपछि नरवणेले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा भारतीय सेनाध्यक्ष नरवणेले आफूलाई दिइएको सम्मानप्रति विशेष आभार प्रकट गर्दै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

त्यसअघि नरवणेले नेपाल र भारतको सैन्य सहकार्यबारे समकक्षी पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए । बिहीबार बिहान जंगी अड्डामा भएको भेटवार्तामा नरवणे र प्रधानसेनापति थापाबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्नेबारे छलफल भएको थियो ।

प्रधानसेनापति थापाको निमन्त्रणामा तीन दिने भ्रमणका लागि उनी बुधबार काठमाडौं आएका हुन् । नरवणेले उपाधि ग्रहणपछि भारतीय दूतावास पुगी राजनीतिक दलका नेता, अन्य उच्च अधिकारी, पूर्व जनरलसँग पनि भेटवार्ता गरेका छन् ।

भारतीय सेनाध्यक्ष नरवणेले आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै राजनीतिक दलका केही नेतासँग समेत उनले भेटघाटलाई निरन्तरता दिनेछन् । आजको राजधानी दैनिकमा समाचार छ