Rumpum Advertisement
Dazzu

प्रदेश १ मा थप नौजना कोरोना संक्रमितको मृत्यु

प्रदेश १ मा थप नौजना कोरोना संक्रमितको मृत्यु

विराटनगर, २० कात्तिक । प्रदेश १ मा कोरोना संक्रमणका कारण थप नौजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विराटनगरमा ६ र धरानमा तीनजनाको मृत्यु भएको हो ।

विराटनगरमा होम आइसोलेसनमा बसेका एकजना र अस्पतालमा उपचाररत पाँचजनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–८ का ७० वर्षीय पुरुषको आफ्नै घरमा मृत्यु भएको हो । मृतकमा मुटु रोगको समस्या थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनको बुधबार दिउँसो स्वाब संकलन भएको थियो ।

सोही दिन साँझ ६ बजेतिर रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएको तीन घण्टा पनि बित्न नपाउँदै राति ९ बजे वृद्धको आफ्नै घरमा ज्यान गएको विराटनगर महानगरपालिका नगर प्रहरी निरीक्षक राजन पौडेलले बताए ।

विराटनगरकै नोबेल शिक्षण अस्पतालमा सिरहाको विष्णुपुर–१ का ८४ वर्षीय पुरुषको मृत्यु भएको छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार फोक्सोको पुरानै समस्या रहेका वृद्धलाई श्वासप्रश्वासमा समस्या भएकोभन्दै उपचारका लागि भदौ १७ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

नोबेलमा इटहरी उपमहानगरपालिका –१८ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । बिहीबार दिउँसो ३ः३० बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएको भन्दै पुरुष उपचारका लागि कात्तिक १७ गते अस्पताल भर्ना भएका थिए ।

पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि थप उपचारका लागि आइसोलेशनमा भर्ना गरिएको दाहालले बताए ।

दमक नगरपालिका– ११ की ४२ वर्षीय महिलाको नोबेलमा मृत्यु भएको छ । एउटा मात्र मृगौला रहेकी महिला निमोनिया भएपछि १७ कात्तिकमा नोबेलमा भर्ना भएकी थिइन् ।

उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । उनको बिहीबार दिउँसो करिब साढे ३ बजे मृत्यु भएको दाहालले जानकारी दिए ।

इटहरी–४ का ७१ वर्षीय वृद्ध पुरुषको न्युरो अस्पतालमा दिउँसो ३ः१५ बजेतिर मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका उनको पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

विराटनगरको म्याक्स अस्पतालमा मोरङको जहदा गाउँपालिका–३ का ५५ वर्षीय संक्रमित पुरुषको बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको छ ।

उपचारका लागि कात्तिक १७ गते अस्पताल भर्ना भएका संक्रमितको बिहीबार मृत्यु भएको हो । मृतकमा मृगौला र मधुमेहको पुरानै समस्या थियो ।

बीपि कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा बिहीबार तीनजनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कोभिड–१९ बाट संक्रमित दुई पुरुष र एक मिहलाको मृत्यु भएको हो ।

९ कात्तिकमा भर्ना भएर अस्पतालमा उपचाररत मोरङका ६९ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आषिश श्रेष्ठले जानकारी दिए । भर्ना भएकै दिन कोरोना पोजेटिभ देखिएका मृतकमा उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या थियो ।

सप्तरी राजविराजकी एक २३ वर्षीय महिलाको पनि मृत्यु भएको छ । उनलाई १८ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । १९ गते भर्ना भएकी उनको बिहीबार बिहान ३ः१५ मा मृत्यु भएको हो ।

प्रतिष्ठानका कोभिड अस्पतालमा उपचाररत सप्तरीका ६५ वर्षीय पुरुषको पनि बिहीबार ८ बजे मृत्यु भएको छ । राजविराज–८ का पुरुष १५ कात्तिकमा भर्ना भएका थिए ।