Rumpum Advertisement
Dazzu

धनकुटाको महालक्ष्मी नगरपालिकाले संक्रमितलाई उपचार खर्च दिने

धनकुटाको महालक्ष्मी नगरपालिकाले संक्रमितलाई उपचार खर्च दिने

धनकुटा, २० कात्तिक । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर भएर आईसीयूमा भर्ना भई उपचार गर्नु परेमा उपचार खर्च सहयोग गर्ने भएको छ ।

बुधबार बसेको नगर कार्यपालिकाको बैठकले आईसीयुमा उपचार गराउँनुपर्ने गम्भीर अवस्थाका संक्रमितलाई उपचार खर्चबापत प्रतिव्यक्ति २५ हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीलाई आईसीयूमा राखेर उपचार गर्ने गरिन्छ ।

धनकुटा अस्पतालमा समेत आईसीयू नहुँदा जिल्लाका बिरामीहरूलाई आईसीयुमा राख्नु परेमा सुनसरी, मोरङका ठूला अस्पतालमा पुर्‍याउने गरिएको छ ।

आईसीयुको उपचार खर्चिलो हुने भएकाले नगरबासीको ज्यान बचाउनका लागि उपचारमा केही मात्रामा भएपनि सहयोग गर्न लागिएको नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए ।

यसैगरी सो नगरले लक्षणयुक्त नगरबासीहरूको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएमा परीक्षण शुल्कमा ५० प्रतिशत रकम सहयोग गर्ने भएको छ ।

संक्रमण पुष्टि भएमा पीसीआर ल्याबमा परीक्षणबापत लाग्ने शुल्कको आधा रकम नगरपालिकाले बेहोर्ने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत सूर्य सुवेदीले बताए ।

नगरले आधा रकम बेहोर्ने भएकाले संक्रमण पुष्टि हुँने महालक्ष्मी नगरबासीले परीक्षणमा १ हजार मात्र खर्चिनुपर्ने भएको हो ।

नगरबासीको पीसीआर परीक्षणका लागि स्वाब संकलन किटको व्यवस्था पनि नगरपालिकाले नै मिलाउने भएको छ । त्यस्तै संक्रमण पुष्टि भएका संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने र संक्रमितको मृत्यु भएमा शव वाहन खर्चसमेत नगरपालिकाले नै बेहोर्ने नगर प्रमुख नेपालले जानकारी दिए ।