Rumpum Advertisement

दिल्लीको प्लेइङ एलेभेनमा सन्दीप पर्नसक्ने सम्भावना उच्च

दिल्लीको प्लेइङ एलेभेनमा सन्दीप पर्नसक्ने सम्भावना उच्च

विराटनगर, २० कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो क्वालिफायरमा मुम्बईविरुद्ध खेल्ने दिल्लीको प्लेइङ एलेभेनमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने समावेश हुनसक्ने प्रबल सम्भावना देखिएको छ ।

जारी आईपीएलको दुवै भेटमा मुम्बईसँग पराजित भइसकेको दिल्लीले आज सन्दीपलाई ‘ट्रम्प कार्ड’को रूपमा प्रयोग गर्नसक्ने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाईम्सले मुम्बईविरुद्ध आज मैदान उत्रने दिल्लीको प्लेइङ एलेभेनमा सन्दिपलाई समावेश गरेको छ ।

आईपीएल अन्त्यतिर आइपुग्दा यूएईका पिचहरू स्लो भएको र नेपाली लेग स्पीनर सन्दीप लामिछानेले यसको सही उपयोग गर्नसक्ने भन्दै आजको खेलमा उनलाई टिममा समावेश गर्नुपर्ने हिन्दूस्तानले उल्लेख गरेको छ ।

जारी आईपीएलमा एक खेल पनि नखेलेका लामिछाने आज तीव्र गतिका बलर एवम् दिल्लीका अष्ट्रेलियन अलराउण्डर डेनियल स्याम्सलाई रिप्लेस गर्दै टोलीमा पर्न सक्छन् । जारी सिजन दुई खेल खेलिसकेका स्याम्स आईपीएलमा विकेट र रनविहीन छन् । मैदान उत्रने टोलीले प्लेइङ एलेभेनमा चार विदेशी खेलाडी मात्र राख्नुपर्ने भएकाले आज स्याम्सको स्थानमा सन्दीप पर्नसक्ने सम्भावना बढेको छ ।

वेस्ट इन्डिजका टप अर्डर ब्याट्सम्यान सिम्रन हिटमेयरले सोचेअनुरुप प्रदर्शन गर्न नसकेको र उनको स्थानमा आएका अजेन्क्या राहाणे उत्कृष्ट प्रदर्शन गर्न सफल भएकाले आज सन्दीप चौथो विदेशी खेलाडीका रूपमा दिल्लीको प्लेइङ एलेभेनमा पर्नसक्ने देखिन्छ ।

दिल्लीको प्लेइङ एलेभेनमा तीव्र गतिका बलरद्वय कागिसो रबाडा, एर्निक नोर्किया र अलराउण्डर मार्काेस स्टोइनिस स्थान बनाउन सफल भइरहेका छन् । यी तीन खेलाडीबाहेक अन्य विदेशी खेलाडीले प्लेइङ एलेभेनमा परे पनि गतिलो प्रदर्शन गर्न नसक्दा यूईएको पिचमा अनुभवी लामिछानेले आज ट्रम्प कार्डको रूपमा खेल्ने मौका पाउनसक्ने देखिन्छ ।

यतिमात्रै नभई आईपीएलमा मुम्बईविरुद्ध लामिछानेको बलिङ रेकर्ड पनि उत्कृष्ट रहेकाले आज उनले खेल्ने मौका पाउनसक्ने सम्भावना अझै बढी छ । मुम्बईविरुद्धको दुवै खेलमा हार भोगिसकेकाले आज फरक रणनीतिअनुरुप रविचन्द्रन आश्विन, अक्सर पट्टेल र लामिछानेको स्पीन दिल्लीले पेश गर्नुपर्नेमा भारतीय सञ्चारमाध्यमहरूले समेत जोड दिएका छन् ।

२०१८ मा दिल्लीबाट आईपीएलमा डेब्यू गरेका सन्दीपले २०१८ र १९ का दुई सिजन गरी हालसम्म नौ खेल खेल्दै तेह्र विकेट लिइसकेका छन् । डेब्यू सिजन नै तीन खेलमा पाँच विकेट लिएका लामिछानेले २०१८ आईपीएलको ५५औं खेलमा मुम्बईको तीन विकेट लिन सफल भए ।

मुम्बईका सूर्यकुमार यादव, किरोन पोलार्ड र क्रुनाल पाण्डे लामिछानेको स्पीनको शिकार भएका थिए । मुम्बईविरुद्ध निकै प्रभावशाली बलिङ गरेका लामिछानेलाई आज सोही प्रदर्शन दोहोर्‍याउने जिम्मेवारी दिल्लीले दिन सक्नेछ ।