Rumpum Advertisement
Dazzu

डा. केसीको आरोप : नेताहरूले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेका छन्

डा. केसीको आरोप : नेताहरूले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेका छन्

काठमाडाैं, २० कात्तिक । डा. गोविन्द केसीले राजनीतिक दलका शीर्ष नेताहरूले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको आरोप लगाएका छन् । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै डा. केसीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राजनीतिक दलका नेताहरूले माफिया र विचौलियासँग मिलेर व्यापार गरिहेको आरोप लगाएका हुन् ।

सबै स्वास्थ्य र शिक्षण संस्थाहरूमा आफ्ना कार्यकर्ताहरुका भर्तिकेन्द्र बनाएर धरासायी बनाइरहेको आरोप उनले लगाए ।

‘सबै स्वास्थ्य र शिक्षण संस्थानहरूमा आफ्ना कार्यकर्ता भर्ति गर्ने, दोहोन गरेर खाने भाँडो बनाउने र त्यसपछि धरासायी बनाइदिने । शिक्षा र स्वास्थ्य सेवामुलक क्षेत्र हो । अहिलेका राजनीतिक दलहरूले शिक्षण र स्वास्थ्य संस्थालाई नाफामुलक क्षेत्रको रूपमा व्यापार गरिरहेका छन् । शीर्ष नेताहरू माफिया, विचौलिया र दलालहरूसँग मिलेर व्यापार गरिरहेका छन्,’ उनले भने ।

डा. केसीले पूँजीवादी भनिने देशहरूसमेत शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापारीकरण नगरी गुणस्तर कायम सफल रहेको उल्लेख गर्दै नेपालमा भने जनतालाई दुःख दिने काम मात्रै भएको बताए ।

‘नेपालमा समाजवादीहरूले जनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ भनेर भोट माग्न जान्छन् । दुई तिहाइको सरकार भएपछि पेटमा लात हान्छन्,’ उनले भने ।

उनले आफूसँग भएका सम्झौताहरू कार्यान्वयनमा सरकार उदासिन देखिएको भन्दै निरन्तर खवरदारीको आवश्यकता रहेको बताए । डा. केसीले १९औं अनसनका समयमा आफूसँग भएका सम्झौताहरू कार्यान्वनयको कुन चरणमा पुगे भनेर प्रश्न पनि गरे ।