Rumpum Advertisement
Dazzu

नोबेल र न्युरोमा इटहरीका दुई संक्रमितको मृत्यु

नोबेल र न्युरोमा इटहरीका दुई संक्रमितको मृत्यु

विराटनगर, २० कात्तिक । विराटनगरको नोबेल शिक्षण र न्युरो अस्पतालमा उपचारत सुनसरी इटहरीका कोरोना भाइरस संक्रमित दुई पुरुषको बिहीबार मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये एक जना वृद्ध पुरुष रहेका छन् । इटहरी–१८ का ५५ वर्षीय पुरुषको दिउँसो ३ः३० बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएको भन्दै पुरुषलाई उपचारका लागि कात्तिक १७ गते अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि थप उपचारका लागि आइसोलेशनमा भर्ना गरिएको दाहालले बताए ।

उनका अनुसार दमको पुरानै समस्या रहेका पुरुषको उपचारका क्रममा आइसोलेशनमै ज्यान गएको हो ।

त्यस्तै इटहरी–४ का ७१ वर्षीय वृद्ध पुरुषको न्युरो अस्पतालमा दिउँसो ३ः१५ बजेतिर मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका उनको पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए ।

कोरोना पुष्टि भएपछि आइसोलेशनमा भर्ना गरिएका वृद्धको उपचारकै क्रममा ज्यान गएको उनको भनाइ छ ।