Rumpum Advertisement
Dazzu

‘कृष्ण लीला’ मा अभिनेत्री परिवर्तन, दीपिका बाहिरिएपछि भित्रिइन् श्रद्धा

‘कृष्ण लीला’ मा अभिनेत्री परिवर्तन, दीपिका बाहिरिएपछि भित्रिइन् श्रद्धा

विराटनगर, २० कात्तिक । दीपक ओलीको निर्देशनमा बन्न लागेको फिल्म ‘कृष्ण लीला’ मा अभिनेत्री परिवर्तन भएको छ ।

केही दिन अघिमात्र फिल्मको मुख्य भूमिकामा अनुबन्ध भएकी अभिनेत्री दीपिका प्रसाईंको ठाउँमा अभिनेत्री श्रद्धा क्षेत्री भित्रिएकी छिन् । दीपिकाले स्वास्थ्यको कारण देखाउँदै फिल्मबाट हात झिकेपछि उनको ठाउँमा श्रद्धालाई भित्र्याइएको फिल्मका निर्माता रत्न श्रेष्ठले जानकारी दिएका हुन् ।

थाइराइड र माइग्रेसनको समस्याले पीडित भएका कारण दीपिकाले फिल्म गर्न नसकेको बताइएको छ । अब दीपिकाको साटो श्रद्धाले ‘कृष्ण लीला’ मा अभिनेता पुष्प खड्कासँग रोमान्स गर्ने पक्का भएको छ । रोमान्टिक तथा कमेडी विषयवस्तुमा आधारित फिल्ममा पुष्प र श्रद्धाका साथे बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको फिल्मको छायांकन मंसिर १५ गतेबाट सुरु हुने भएको छ । अर्जुन पोखरेलको संगीत रहने फिल्मलाई शिव ढकालले छायांकन गर्ने छन् । श्रद्धा क्षेत्री लामो समयदेखि मुम्बईमा बसेर मोडलिङ गर्दै आएकी छिन् । यसअघि उनले अभिनेता पल शाहसँग फिल्म ‘हृदयभरि’ मा काम गरेकी छन् । यो फिल्म प्रदर्शन भने भएको छैन ।