Rumpum Advertisement
Dazzu

छालामा यी छ परिवर्तन देखिए मधुमेहको जाँच गर्नु पर्ने संकेत

छालामा यी छ परिवर्तन देखिए मधुमेहको जाँच गर्नु पर्ने संकेत

विराटनगर, २० कात्तिक । अन्तर्राष्ट्रिय मधुमेह महासंघका अनुसार विश्वव्यापी करिब ४२.५ करोड मानिस मधुमेहबाट पीडित छन् ।

यो संख्या सन् २०४५ सम्ममा ६२.९ करोडमा बढ्ने अपेक्षा गरिएको छ, जुन यो चिन्ताको विषय बनेको छ । मधुमेह एक दीर्घरोग हो, जसले अन्य धेरै स्वास्थ्य समस्यासमेत निम्त्याउन सक्छ । तर, सामान्य जीवनशैली परिवर्तन र नियमित औषधिको सेवनले मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । मधुमेहले छालासहित शरीरका धेरै भागलाई असर गर्न सक्छ ।

मधुमेहले छालामा असर गर्नु भनेको मधुमेह पहिचान नभएको वा वर्तमान उपचार समायोजित गर्न आवश्यक रहेको संकेत गर्छ । छालामा देखिने यी छ तरिकाका परिवर्तनले आफ्नो रगतमा चिनीको जाँच गर्नु पर्छ भन्ने संकेत गर्छ ।

छालामा पहेँलो, रातो वा खैरो दाग : यस छालाको समस्यालाई नेक्रोबायोसिस लिपोइडिका भनिन्छ र सामान्य सुरू हुँदा पिम्पलजस्तो देखिन्छ । यी बम्पपछि कडा भई छालाको ठूलो दागमा परिणत हुन्छ । यी प्याच रातो, पहेँलो वा खैरो रङको हुन सक्छ । प्याच वरपरको छाला चम्किलो देखिने हुँदा रक्तनलीसमेत देखिन थाल्छ । उक्त ठाउँको वरिपरि चिलाउने तथा दुखाइ महसुस हुन सक्छ ।

छालामा गाढा प्याच : घाँटी, काखी वा अन्य कुनै ठाउँमा गाढा प्याच वा छालाको ब्यान्ड देखिए रगतमा इन्सुलिनको मात्रा धेरै भएको संकेत गर्न सक्छ । यी प्याच पूर्वानुमान मधुमेह रोगको संकेत हो ।

छालामा फोका उठ्ने : यो धेरै सामान्य नभए पनि केही अवस्थामा, मधुमेहपीडितले आफ्नो छालामा फोका देखा पर्ने गरेको देख्न सक्छन् । यी फोका सामान्यतया हात, खुट्टा, पाइतला र पाखुरामा देखा पर्छ । गम्भीर तरिकाले पोल्दा देखिने फोकाजस्तो भए पनि यी पीडादायी हुँदैनन् ।

घाउलाई निको हुन लामो समय लाग्छ : लामो समयको लागि रगतमा उच्च चिनीको स्तरले न्यून रक्तसञ्चार र स्नायुमा क्षति निम्त्याउन सक्छ । खराब रक्तसञ्चार र क्षतिग्रस्त भएका नशाले शरीरका घाउलाई निको पार्न गाह्रो बनाउन सक्छ । यो विशेषगरी खुट्टामा हुन्छ । यी खुला घाउलाई मधुमेह अल्सर भनिन्छ ।

अत्यन्तै सुक्खा र चिलाउने छाला :मधुमेह रोगीका छाला सुख्खा हुने र छाला चिलाउने हुन्छ । मधुमेहका कारण न्यून रक्तसञ्चारले छालामा सुख्खा भई चिलाउने हुन सक्छ ।

आँखा वरिपरि पहेलो प्याच : रगतमा उच्च–फ्याटको मात्राले आँखामा र वरिपरि पहेलो प्याच निम्त्याउन सक्छ । यसले अनियन्त्रित मधुमेह भएको पनि संकेत गरेको हुन सक्छ ।