Rumpum Advertisement
Dazzu

उखु किसानको बक्यौता एक महिनाभित्र भुक्तानी गर्न निर्देशन

उखु किसानको बक्यौता एक महिनाभित्र भुक्तानी गर्न निर्देशन

काठमाडौ, २० कात्तिक । संसदीय समितिले रौतहटको श्रीराम सुगर मिल्सले उखु किसानलाई नदिएको रकम एक महिनाभित्र भुक्तानी हुने गरी समन्वय गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकले श्रीराम सुगर मिल्सबाट उत्पन्न समस्याको समाधान एक महिनाभित्र सम्पन्न गरी समितिमा जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

रौतहटमा रहेको श्रीराम सुगर मिल्सले किसानबाट उखु खरिद गरी करोडौं रुपैयाँ भुक्तानी दिएको छैन । त्यस्तै आठ–दश महिनायाता उद्योग बन्द गरी मजदुरको समेत पारिश्रमिक दिएको छैन ।

बैठकपछि पत्रकारसँग कुराकानी गर्दै समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले उद्योग मन्त्रालयले एक महिनाभित्र सबै निकायसँग समन्वय गरी समस्याको निकास दिई समितिलाई जानकारी दिन निर्देशन दिइएको बताए ।

यस्तै चाडपर्वको समय भएकाले सम्बन्धित मन्त्रालयले उखु किसान र मजदुरहरुलाई तत्काल राहतस्वरुप केही रकम भुक्तानी दिइसक्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको सभापति श्रीवास्तवले बताए ।

श्रीराम सुगर मिल्सले किसानबाट उखु खरिद गरेको भुक्तानी नदिई गत साउन ११ गते सूचना प्रकाशन गरी उद्योग सधैंको लागि बन्द भएको जानकारी गराएको थियो । त्यससँगै किसानहरुले पाउनुपर्ने करिब ४१ करोड रुपैयाँ पाउन सकेका छैनन् । यस्तै श्रमिक तथा कर्मचारीले पनि ६/७ महिनाको तलब भत्ता र कर्मचारी सञ्चयकोषमा रहेको करिब ४ करोड रुपैयाँ पाएका छैनन् ।

चिनी मिलसँग भुक्तानी माग्दा जग्गा बिक्री भएपछि मात्रै भुक्तानी दिने जवाफ आएको भन्दै किसानहरु अन्योलमा परेका छन् ।