Rumpum Advertisement
Dazzu

मुम्बई भर्सेज दिल्ली : को बन्लान् त आईपीएलको फाइनलमा पुग्ने पहिलो टोली ?

मुम्बई भर्सेज दिल्ली : को बन्लान् त आईपीएलको फाइनलमा पुग्ने पहिलो टोली ?

विराटनगर, २० कात्तिक । १३औं संस्करणको आईपीएल अन्त्यतिर आइपुगेको छ । दुवै राउण्ड रोबिनका लिगका खेल मंगलबार सकिएसँगै आईपीएलका प्लेअफ खेल्ने चार टोलीको टुंगो लागिसकेको छ ।

अंकतालिकाको पहिलो र दोस्रो स्थानमा रहेका मुम्बई इन्डियन्स् र दिल्ली क्यापिटल्सले पहिलो क्वालिफायर खेल्ने भएका छन् । यस्तै, अन्तिम खेलमा विजयी हुँदै तेस्रो स्थानमा उक्लिएको सनराइजर्स हैदराबाद र नेट रन रेटमा कोलकतालाई पछि पार्दै चौथो स्थानमा रहन सफल रोयल च्यालेन्जर्स बैंग्लोरले इलिमिनेटर खेल्ने तय भएको छ ।

निकै प्रतिस्पर्धात्मक बनेको यस संस्करणको आईपीएलको पहिलो क्वालिफायरमा आज चिरप्रतिद्वन्द्वी मुम्बई र दिल्ली आमनेसामने हुँदैछन् । दुबई रंगशालामा बेलुकी ७ः४५ बजे हुने यी दुई बीचको खेलमा जित निकाल्ने टोलीले सोझै फाइनलमा स्थान बनाउने छ ।

तर हार भोग्ने टोली प्रतियोगिताबाट बाहिरि हाल्ने छैन । आईपीएलको नियमअनुसार पहिलो क्वालिफायरमा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ ।

२०२० आईपीएलको दोस्रो क्वालिफायरमा आजको खेलमा पराजय भोग्ने टोलीले भोलि बेलुकी शेख जायद रंगशालामा बैंग्लोर र हैदराबादबीच हुने इलिमिनेटर खेलको विजेतासँग फाइनल प्रवेशको लागि भिड्नुपर्ने हुन्छ ।

१४ मध्ये नौ खेल जित्दै १८ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदै क्वालियफायरमा पुग्न सफल भएको मुम्बई प्रतियोगिताकै सबैभन्दा उत्कृष्ट फर्ममा रहेको टोली हो । अघिल्लो संस्करणको विजेतासमेत रहेको मुम्बईले पहिलो खेलमा अघिल्लो संस्करणकै उपविजेता टोली चेन्नईसँग पराजय भौग्दै २०२० आईपीएल यात्रा प्रारम्भ गरेको थियो ।

तर त्यसपछि निकै सम्हालिएको प्रदर्शन गरेको मुम्बई पहिलो राउण्ड रोबिनमा बैंग्लोर र दोस्रो राउण्ड रोबिनमा पञ्जाब, राजस्थान र हैदराबादसँग पराजित भएको थियो । बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा चुस्त देखिएको मुम्बई जारी संस्करणको आईपीएलको मुख्य दाबेदार टोली हो ।

यता मुम्बईको आजको प्रतिद्वन्द्वी दिल्ली पनि आईपीएल उपाधि जित्ने दाबेदारमध्येको एक हो । २०२० आईपीएल यात्रा विजयी हुँदै सुरु गरेको दिल्लीले पहिलो राउण्ड रोबिनमा आफ्नो उत्कृष्ट लय प्रदर्शन गरेको थियो । दोस्रो राउण्ड रोबिन लिगका सुरुआती दुई खेलमा उसले सोही लय पक्रिएको पनि हो तर त्यसपछिका चार खेलमा सम्हालिन नसकेको दिल्ली प्लेअफ पुग्नबाट झण्डै रोकिएको थियो ।

लगातार चार खेलमा पराजित भएको दिल्लीले लिग चरणको आफ्नो अन्तिम खेलमा बैंग्लोरलाई ६ विकेटले स्तब्ध पार्दै आफ्नो आईपीएल यात्रा जिवितै राख्न सफल भएको थियो । पछिल्ला खेलहरूमा निकै सुस्ताएको दिल्ली र प्रतियोगिताकै उच्च फर्ममा रहेको मुम्बईबीचको आजको खेल निकै रोमाञ्चक अनि प्रतिस्पर्धात्मक हुनेछ । यी दुईबीचको आजको खेलमा कसले बाजि मार्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने हो त्यसको लागि हामीले खेलको नतिजा पर्खनुपर्ने हुन्छ ।

आईपीएलमा मुम्बई र दिल्लीको यो २७औं भेट हो । जारी संस्करणको लिग चरणका दुई र अघिल्ला संस्करणका २४ भेट गरी जम्मा २६ पटक आमनेसामने भई सकेका यी दुईमध्ये, नजिताले मुम्बईलाई बलियो स्थितिमा देखाउँछ । २६ मध्ये १४ भेटमा मुम्बई सफल भएको छ भने दिल्ली १२ भेटमा मात्रै भाग्यमानी सावित भएको छ ।

२०२० आईपीएलका दुई खेलको नतिजाबाहेक यी दुईको पछिल्ला तीन संस्करणको ६ भेटको नतिजा हेर्ने हो भने यी दुईबीच कडा प्रतिस्पर्धा भएको देखिन्छ । किनकि, पछिल्ला ६ खेलमा दुवै टोलीले समान तीन–तीन पटक खेल आ–आफ्नो पक्षमा पार्न सफल भएका छन् । २०१७ आईपीएलको दुवै खेलमा दिल्लीलाई पराजित गरेको मुम्बई २०१८ आईपीएलको दुवै भेटमा दिल्लीसँग पराजित भएको थियो । अघिल्लो संस्करण अर्थात २०१९ आईपीएलमा भने यी दुवैले एक–एक खेल आ–आफ्नो पक्षमा पार्न सफल भएका थिए ।

तर जारी संस्करणका दुवै भेटमा मुम्बईसँग पराजित भइसकेकाले दिल्ली आजको खेलमा केही दबाबमा देखिनेछ । २०२० आईपीएलको पहिलो राउण्ड रोबिन लिगअन्तर्गत २७औं खेलमा यी दुईबीच पहिलो भेट भएको थियो । सो खेलमा टस जित्दै पहिलो ब्याटिङ रोजेको दिल्लीले चार विकेट गुमाउँदै मुम्बईसामु एक सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । मध्यम लक्ष्य पाएको मुम्बईले दुई बल अगावै पाँच विकेटको क्षतिमा विजयी लक्ष्य हासिल गर्दै दिल्लीविरुद्ध जारी सिजनको पहिलो भेटमा नै जित दर्ता गरेको थियो ।

यस्तै, दिल्लीको मुम्बईविरुद्धको दोस्रो खेल भने बिर्सनलायक रह्यो । दोस्रो राउण्ड रोबिन लिगअन्तर्गत आईपीएलको ५१औं खेलमा भेट भएका यी दुई टोलीमध्ये मुम्बईले दिल्लीलाई नौ विकेटको लज्जास्पद हार चखायो ।

टस जितेर दिल्लीलाई पहिले ब्याटिङको निम्तो दिएको मुम्बईले जितको लागि एक सय ११ रनको लक्ष्य पाएको थियो । मुम्बईका बलरसामु निरिह देखिएको दिल्लीका कुनै पनि ब्याट्सम्यानले व्यक्तिगत स्कोर २५ भन्दा बढी बनाउन सकेनन् ।

उक्त खेलमा मुम्बईका लागि बलिङमा जसप्रित बुमराह र टे«न्ट बोल्ट र ब्याटिङमा इशान किशन नायक बने । मुम्बईविरुद्धको खेलमा बलिङ गर्ने ६ बलरमध्ये दिल्लीका एर्निक नोर्कियाले क्विन्टन डि कक विकेट लिनुबाहेक अन्य खेलाडी विकेटविहिन बने र खेल गुमाउन बाध्य रहे ।

चार पटक आईपीएल च्याम्पियन बनिसकेको मुम्बई दिल्लीलाई आजको खेलमा पराजित गर्दै जारी संस्करणको फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ । आजको खेलमा मुम्बई विजयी बने उसको यो छैटौं आईपीएल फाइनल हुनेछ ।

२०१० आईपीएलमा पहिलो पटक फाइनलसम्म पुग्न सफल भएको मुम्बईले २०१३, २०१५, २०१७ र २०१९ मा आईपीएल उपाधि जितिसकेको छ । आईपीएलमा सर्वाधिक सफल टोली मुम्बई आजको खेलमा दिल्लीलाई पराजित गर्दै फाइनलमा स्थान बनाउने सामर्थ्य राख्छ । उसका लागि क्विटन डी कक चार सय ४३, इशान किशन चार सय २८, सूर्यकुमार यादव चार सय १०, कप्तान रोहित शर्मा दुई सय ६४, किरोन पोलार्ड दुई सय ५९, हार्दिक पाण्डेय दुई सय ४१ र सौरभ तिवारी एक सय तीन रन बनाएर आईपीएल खेलिरहेका छन् ।

यस्तै, मुम्बईका पेशर जसप्रित बुमराह १३ खेलमा २३ विकेट लिएर बलिङ–लाइनअपको नेतृत्व गरिरहेका छन् । उनलाई ट्रेन्ट बोल्ट २०, राहुल चाहर १५, जेम्स प्याटिन्सन ११, क्रुनाल पाण्डेय पाँच, किरोन पोलार्ड तीन र कौल्टर नाईलले तीन विकेट लिएर पछ्याइरहेका छन् ।

यता, मुम्बईको आजको प्रतिद्वन्द्वी दिल्ली भने आईपीएल ईतिहासमा पहिलो पटक फाइनल पुग्ने लक्ष्य बोकेर आज मैदान उत्रँदै हुनेछ । अघिल्लो संस्करणमा इलिमिनेटर पार गरेर दोस्रो क्वालिफायरसम्म पुगेको दिल्ली चेन्नईसँग पराजित हुँदै फाइनल पुग्नबाट बञ्चित भएको थियो । तर दिल्लीलाई आज पहिलो क्वालिफायरमा नै जित निकाल्दै इतिहास रच्ने मौका छ । दिल्लीलाई आजको खेलमा जित दिलाउन सक्ने थुप्रै खेलाडीहरू उनको प्लेइङ स्क्वाडमा छन् ।

मुम्बईविरुद्धको पहिलो खेलमा सफल भए पनि दोस्रो खेलमा शून्य रनमै पेभिलियन फर्किएका शिखर धवन आजको खेलमा दिल्लीका तर्फबाट महत्वपूर्ण खेलाडी हुन् सक्छन् । जारी सिजन दिल्लीबाट सबै १४ खेलमा ओपनिङ सम्हालेका धवनले पाँच सय २५ रन बनाइसकेका छन् ।

धवनबाहेक दिल्लीका कप्तान ऐयर चार सय २१, मार्काेस स्टोइनिस दुई सय ४९, रिसभ पन्त दुई सय ८२, पृथ्वी सअ दुई सय २८, सिमरोन हिटमेयर एक सय ३८, अंजेन्क्या राहाणे एक सय ११ र अक्सर पट्टेल ६६ रन बनाएर आईपीएल खेलिरहेका छन् ।

यीबाहेक, जारी आईपीएल सिजनका पर्पल क्याप होल्डर कागिसो रबाडाको साथ पनि आजको खेलमा दिल्लीलाई हुनेछ । तीव्र गतिका बलर रबाडाले १४ खेलमा २५ विकेट लिएर दिल्लीको बलिङ लाइन–अप सम्हालिरहेका छन् । रबाडाबाहेक दिल्लीका लागि अर्निच नोर्किया १९, रविचन्द्रन आश्विन १०, मार्कोस स्टोइनिस र अक्सर पट्टेल समान आठ र तुसार देशपाण्डेय र हर्सल पट्टेल तीन–तीन विकेटका साथ आईपीएल खेलिरहेका छन् ।

अनुभवी र सफल कप्तान रोहित शर्माले सम्हालिरहेको मुम्बई र युवा कप्तान ऐयरले सम्हालिरहेको दिल्लीमध्ये आजको खेल जित्दै कसले आईपीएल २०२० को फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने हो त्यसको लागि हामी सबैले आजको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।