Rumpum Advertisement
Dazzu

बार्सिलोनाको जितको श्रेय टर स्टेगनलाई

बार्सिलोनाको जितको श्रेय टर स्टेगनलाई

विराटनगर, २० कात्तिक । स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोइम्यानले च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको युक्रेनी क्लब डायनामो किभविरुद्धको जितको श्रेय गोलरक्षक मार्क–आन्द्रे टर स्टेगनलाई दिएका छन् ।

खेलपछि पत्रकार सम्मलेनमा बोल्दै कोइम्यानले ‘असाधारण गोलरक्षक’ टर स्टेगनका कारण खेलमा विजयी भएको सुनाए ।

समूह चरणको खेलमा बार्सिलोनाले युक्रेनको क्लब डायनामोमाथि २–१ गोलको साघुँरो जित निकालेको थियो । बार्सिलोनाको मैदान क्याप नोउमा भएको खेलमा घरेलु टोलीलाई जिताउन कप्तान लियोनल मेस्सी र जेरार्ड पिकेले समान एक–एक गोल गरेका थिए ।

सो खेलमा टर स्टेगनकाे प्रदर्शन उत्कृष्ट रह्यो । टर स्टेगन यसै खेलमार्फत टोलीमा फर्किएका हुन् । जर्मन गोलकिपर टर स्टेगन चोटका कारण केही समयदेखि मैदानबाहिर रहेका थिए ।

यसै समरमा दाहिने घुडाँको शल्यक्रिया गरेका उनले २०२०–२१ को सिजनमा खेल्न पाएका थिएनन् । उनको स्थान नेटोले लिइरहेका थिए ।

‘हाम्रा लागि उनले आफू विश्वकै उत्कृष्ट गोलरक्षक भएको साबित गरे’, उनले भने, ‘उनले ट्रेनिङ पनि राम्रो गरे, त्यै कुरा हामीले देख्न पायौं । हामीले खेल निकै राम्रो तरिकाले सुरु गरेका थियौं र चाँडै नै १–० गोलको अग्रता बनायौं । तर, दोस्रो गोल गर्न कठिन भयो र हामीले नियन्त्रण गुमायौं ।’

‘मार्कलाई धन्यवाद दिनुपर्छ, जो महान् छन् । हामी उनकै कारण विपक्षीलाई हराउन सफल भयौं’, उनले थपे ।

यससँगै बार्सिलोनाले लगातार तेस्रो जित निकालेको हो । यसअघि उसले पहिलो खेलमा फेरेन्सभारोसमाथि ५–१ गोलको जित निकालेको थियो भने दोस्रो खेलमा युभेन्टसलाई २–० गोलको जित निकालेको थियो ।

जितसँगै समूह ‘जी’को बार्सिलोनाले ३ खेलबाट ९ अंक बटुलेको छ । ऊ सो समूहको शीर्ष स्थानमा छ ।