Rumpum Advertisement
Dazzu

विराटनगरमा थप तीन कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप तीन कोरोना संक्रमितको मृत्यु

विराटनगर, २० कात्तिक । विराटनगरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । एकजनाको आफ्नै घरमा र दुईजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–८ का ७० वर्षीय पुरुषको आफ्नै घरमा मृत्यु भएको छ । महानगर प्रहरीका निरीक्षक राजन पौडेलका अनुसार मृतकमा मुटुको पुरानै समस्या थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि पीसीआर परीक्षणका लागि बुधबार दिउँसो स्वाब संकलन गरिएको र नोबेल शिक्षण अस्पतालको प्रयोगशालाबाट साँझ ६ बजेतिर रिपोर्ट पोजेटिभ आएको पौडेलले बताए ।

रिपोर्ट पोजेटिभ आएको तीन घण्टा पनि बित्न नपाउँदै राति ९ बजे वृद्धको आफ्नै घरमा ज्यान गएको हो । कोरोना संक्रमण पुष्टि भएर अवस्था गम्भीर बनिसक्दा पनि उपचारका लागि कोभिड अस्पताल लैजान नपाउँदै वृद्धको मृत्यु भएको महानगरले जनाएको छ ।

विराटनगरको म्याक्स अस्पतालमा मोरङको जहदा गाउँपालिका–३ का ५५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताका अनुसार कोरोना पुष्टि भएपछि उपचारका लागि कात्तिक १७ गते अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा मृत्यु भएको पुरुषमा मृगौला र मधुमेहको पुरानै समस्या रहेको मेहताले बताए ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा सिरहाको विष्णुपुर–१ का ८४ वर्षीय पुरुषको मृत्यु भएको छ । अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार फोक्सोको पुरानै समस्या रहेका वृद्धलाई श्वासप्रश्वासमा समस्या भएको भन्दै उपचारका लागि भदौ १७ गते अस्पताल भर्ना गरिएको थियो ।

सोही दिन स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको दाहालले बताए । वृद्धको उपचारका क्रममा बिहीबार बिहान ३ बजेतिर आइसोलेसनमै मृत्यु भएको उनको भनाइ छ ।