Rumpum Advertisement
Dazzu

युभेन्टसको प्रदर्शनबाट खुशी छैनन् प्रशिक्षक पिर्लो

युभेन्टसको प्रदर्शनबाट खुशी छैनन् प्रशिक्षक पिर्लो

विराटनगर, २० कात्तिक । इटालियन क्लब युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लो च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलबाट असन्तुष्ट देखिएका छन् ।

गए राति समूह चरणको तेस्रो खेलमा हंगेरियन क्लब फेरेन्सभारोसमाथि ४–१ गोलको शानदार जित निकाल्दा पनि पिर्लो सन्तुष्ट देखिएका छैनन् । खेलपछि पत्रकारसँग कुरा गर्दै पिर्लोले युभेन्टसको प्रर्दशन राम्रो नभएको गुनासो गरे ।

फेरेन्सभारोसको मैदानमा युभेन्टसलाई जिताउन अल्भारो मोरोटाले दुई गोल गरे भने पाउलो डेबालाले एक गोल गरे । युभेन्टसले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । ८१औं मिनेटमा घरेलु टोलीका लाशा डीभालीले आत्मघाती गोल गरे ।

युभेन्टस पहिलो हाफमा अग्रता दोब्बर बनाउन संघर्षरत थियो । तर, दोस्रो हाफमा तीन गोल गरेको ऊ ९०औं मिनेटमा घरेलु टोलीले गोल गरेपछि क्लिनसिट बनाउनबाट चुक्यो ।

‘हामी नतिजाबाट पूर्णरूपमा सन्तुष्ट छौं तर प्रदर्शनबाट छैनौं । प्रदर्शनलाई अझै पनि निखार्न सकिन्थ्यो । हामीले धेरै नै गल्तीहरू गरेका छौं । यसैले हामीले सुधार गर्न जरुरत छ’, पिर्लोले स्काइ इटालियासँग बोल्दै भने ।

‘मैले मेरा खेलाडीहरूसँग धेरै नै कुरा गरेको छु, तर मैदानमा रहँदा उनीहरूले आफ्नो चाहनाअनुरुप काम गर्छन् । उनीहरू पहिलेको जस्तै घमण्डी थिए र खेलभन्दा बाहिर गए । हामीले राम्रो फर्म्याटमा खेलेका थियौं । तर प्रदर्शन सोचेअनुरुप भएन,’ उनले थपे ।

फेरेन्सभारोसलाई हराएसँगै च्याम्पियन्स लिगमा युभेन्टसले दोस्रो जित निकालेको छ । युभेन्टस पहिलो खेलमा डायनामो किभमाथि २–० गोलले विजयी भएको थियो भने दोस्रो खेलमा बार्सिलोनासँग २–० गोलले नै पराजित भएको थियो ।

समूह ‘जी’मा युभेन्टसले ३ खेलबाट ६ अंक जोडेको छ । ऊ दोस्रो स्थानमा छ ।