Rumpum Advertisement
Dazzu

चिसोले बढी सताउँछ बालबालिकालाई, जाडोमा यसरी गर्नुहोस् हेरचाह

चिकित्सकको सल्लाहविना प्रयोग हुने औषधिले असर गर्न सक्छ

चिसोले बढी सताउँछ बालबालिकालाई, जाडोमा यसरी गर्नुहोस् हेरचाहचिकित्सकको सल्लाहविना प्रयोग हुने औषधिले असर गर्न सक्छ
डा. सुरेशप्रसाद साह
बालरोग विशेषज्ञ, न्यूरो हस्पिटल

जाडो मौसममा रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकालाई सताइरहेको हुन्छ । जाडोको समयमा मानिसमा देखिने मुख्य समस्या भनेको सामान्य फ्लू र श्वासप्रश्वाससम्बन्धी समस्या हो । जुन कोरोनासँग मिल्दोजुज्दो छ ।

जाडोको समयमा बालबालिका बढी प्रभावित हुन्छन् । यस्तो अवस्थामा धेरैजसो श्वासप्रश्वाससम्बन्धी समस्या, झाडापखाला, निमोनिया तथा छाला सुख्खा हुनेजस्ता समस्या देखिन्छ ।

जाडोको समयमा नाक बन्द हुने, नाकबाट पानी बग्ने, श्वास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने, घाँटी खसखस हुने, घाँटी दुख्ने, जोरो आउने, हाच्छ्युँ बढी आउने, टन्सिल हुनेजस्ता समस्या देखा पर्छन् ।

सामान्य किसिमको श्वासप्रश्वासको समस्या भएमा सामान्य उपचारपछि निको हुन्छ । बेलैमा उपचार नगरेको खण्डमा बच्चामा गम्भीर, कडा प्रकारको श्वासप्रश्वाससम्बन्धी समस्या वा निमोनिया हुन सक्छ ।

त्यसबाहेक कहिलेकाहीँ ताजा खानेकुराको सेवन नगर्दा वा चिसोका कारण बच्चालाई झाडापखाला पनि हुन सक्छ । यसलाई कोल्ड डाइरिया पनि भनिन्छ ।

जाडोको समयमा बच्चाको छाला सुख्खा हुने सम्भावना पनि सक्छ । यसका लागि राम्रो मोइश्चराइजर वा नरिवलको तेलले मालिस गर्नु पर्छ ।

चिसो बढ्दै गएका कारण कुनैकुनै बच्चालाई हाइपोथर्मिया (शरीरको तापक्रम धेरै कम हुँदै जाने) समस्या हुन सक्छ । बच्चाको शरीरमा ९८.६ डिग्री फेरेन्टहाइटभन्दा कम तापक्रम भएका शरीरका सबै भागमा रगत राम्रोसँग प्रवाह नहुँदा स्वास्थ्य जटिलता निम्तिन सक्छ ।

मौसम परिवर्तन हुने समयमा किटाणु बढी सक्रिय हुँदा बच्चामा विभिन्न किसिकमा भाइरल समस्या देखिन्छ । जाडोको बेलामा बच्चामा यस्ता समस्या देखिनुको मुख्य कारण भनेको भाइरल संक्रमण नै हो ।

त्यसैले जाडोको समयमा सरसफाइमा विशेष ध्यान दिनुका साथै तातो लुगा लगाएर बच्चालाई तातो खानेकुरा खुवाउनु पर्छ । सामान्य रुघाखोकी वा ज्वरो आउँदा डाक्टरको सल्लाहविना वा औषधि पसलबाट किनेर बच्चालाई औषधिको सेवन गराइने गरिन्छ । यो गलत हो । डाक्टरको सल्लाहविना बच्चालाई औषधिको सेवन गराउन र अनावश्यक एन्टिबायोटिकको प्रयोग गर्न हुँदैन ।

ब्याक्टेरियाले गरेको श्वासप्रश्वाससम्बन्धी समस्या हो भनेमात्र एन्टिबायोटिक दिएर उपचार गर्नुपर्ने हुन्छ । तर, सामान्य भाइरलको संक्रमण भाइरसको कारणले हुने गर्छ । ब्याक्टेरियाले समस्या नगरेको खण्डमा एन्टिबायोटिक दिएर गरिएको उपचारले रोग निको हुँदैन ।

भाइरसलाई कुनै पनि एन्टिबायोटिक दिएर मार्न सकिँदैन । यो आफैं ५ देखि ७ दिनमा कम हुँदै जान्छ । अनावश्यक एन्टिबायोटिकको प्रयोग गर्दा पछि औषधिलाई प्रतिरोध गर्ने क्षमता बढ्न थाल्छ जसले गर्दा एन्टिबायोटिकहरू कम प्रभावकारी वा प्रभावहीन हुन सक्छ ।

त्यसैले औषधि प्रयोग गर्दा ध्यान दिनुपर्ने हुन्छ र बच्चामा समस्या देखिएकोजस्तो महसुस भएमा स्वास्थ्यकर्मीको सल्लाह लिनु पर्छ ।

कोभिडको संक्रमण पनि बढिरहेको बेलामा सामान्य रुघाखोकी वा नाकबाट पानी बग्ने मात्र समस्या छ भने अस्पतालमा आउनुभन्दा पनि घरेलु उपचार पनि प्रभावकारी हुन सक्छ ।

जाडोको समयमा घरमै न्यानो बनाएर तातो कपडा लगाई, तातो खाना र धेरै झोलिलो पदार्थको सेवन गर्ने, नुनपानीले कुल्ला गर्ने, नाक बन्द भए नाकमा नुनपानी हाल्ने तथा बाफ लिएरमात्र पनि जाडोमा देखिने समस्याको सामधान गर्न सकिन्छ ।

बच्चालाई प्रशस्त मात्रामा पोषण तत्वयुक्त सागसब्जी, फलफूल तथा खानेकुराको सेवन गराउनु पर्छ । कमजोर भएपछि निको हुन समय लाग्नुका साथै बच्चालाई अन्य रोग लाग्ने सम्भावना पनि बढ्छ । त्यसैले चिसो लाग्ने खाना तथा फ्रिजमा राखिएका खानेकुराबाहेकका अन्य खाना बारिरहनु पर्दैन ।

ठूला बच्चालाई कागती, सुन्तलालगायतका भिटामीन सीयुक्त आहारको सेवन गराउनु पर्छ । भिटामिन सीले शरीरमा भएको रोगविरुद्ध लड्ने क्षमताको विकास गर्छ र शरीरमा कुनै प्रकारको रोग पनि लाग्न दिँदैन ।

यदि ६ महिनाभन्दा कम उमेरका शिशु भएमा आमाको दूधको सेवन गराउने तथा आमाको छातिमा न्यानो हुने गरी टँसाएर राख्नु पर्छ । आमाले बच्चालाई आफ्नो जिउसँग जोडेर राख्दा न्यानो हुन्छ र संक्रमणबाट बचाउन सकिन्छ । सामान्य फ्लूले मात्र सताएमा ६ महिनाभन्दा माथिका बच्चालाई महको सेवन पनि गराउन सकिन्छ । महले नाकबाट बग्ने पानीलाई पातलो बनाएर कफसमेत जम्मा हुन दिँदैन ।

तर, बच्चालाई दुई–तीन दिनसम्म १०० डिग्रीभन्दा धेरै ज्वरो आएमा, बच्चाले खान छाडेमा, छिटोछिटो सास फेरेमा, बच्चाले पहिलाको भन्दा फरक तरिकाले सास फेरेमा, छाति वा कोखाभित्र हानिरहेको वा कुनै पनि गम्भीर लक्षण देखापरेमा निमोनियाको संकेत हुनसक्ने भएकाले तुरुन्तै नजिकमा रहेको चिकित्सक वा बालरोग विशेषज्ञसँग सुझाव लिएर उपचारको प्रक्रिया अगाडि बढाउनु पर्ने हुन्छ । सुरुको अवस्थामा उपचार गर्दा बच्चालाई अस्पतालमा भर्ना गरिराख्नु पर्दैन ।

चिसोबाट बच्न बच्चालाई बाक्लो लुगा लगाइदिनुपर्छ । धुँवाधुलोबाट पनि बचाउनु पर्छ । चिसो खान नदिने र बच्चाको कोठालाई न्यानो राख्नुपर्छ ।

शिशुहरूलाई छिट्टै रुघा सर्ने डर हुन्छ, त्यसैले ठूलो मानिसलाई रुघाखोकी लागेको छ भने साना बच्चालाई टाढा राख्नु उचित हुन्छ ।

(कुराकानीमा आधारित)