Rumpum Advertisement

प्रदेशमा ‘मास टेस्टिङ’ रोकियो, लक्षण देखिए कोशी अस्पताल र प्रदेश प्रयोगशालामा निःशुल्क जाँच

प्रदेशमा ‘मास टेस्टिङ’ रोकियो, लक्षण देखिए कोशी अस्पताल र प्रदेश प्रयोगशालामा निःशुल्क जाँच

विराटनगर १० कात्तिक । समुदायमा संक्रमण व्यापक बनेपछि प्रदेशमा सामुहिक कोरोना जाँच रोकिएको छ । पीसीआर जाँचका लागि आएका अधिकांश स्वाबको रिपोर्ट पोजेटिभ आउन थालेपछि सामुहिक पीसीआर जाँच रोकिएको हो ।

पछिल्लो समय लक्षण देखिएकाहरुको पीसीआर जाँच हुँदै आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयवेन्द्र यादवले बताए ।

उनका अनुसार पोजेटिभ दर बढी भएकाले समुहिक (पुल) पद्दतिबाट जाँच गर्न छाडिएको छ । सामुहिक गर्न सम्भव नहुने भएकाले एक/एक गरी पीसीआर जाँच गर्नुपर्ने उनले बताए ।

‘पहिला एक–दुईजनामा पोजेटिभ देखियो भने दुई–तीन सयको स्वाब संकलन गरेर पठाउँथे,’ उनले भने, ‘अहिले भने लक्षण देखिएकाको मात्र स्वाब आउने गरेको छ ।’

संक्रमितको संख्या धेरै भएका कारण स्थानीय तहले पनि शंकास्पदको मात्र स्वाब संकलन गर्दै आएका छन् ।

संघले हात उठायो, प्रदेशमा निःशुल्क जाँच

संघीय सरकारले सबै नागरिकको कोरोना परीक्षण र उपचार नगर्ने भन्दै हात उठाए पनि प्रदेश १ का सरकारी प्रयोगशालामा निःशुल्क जाँच भइरहेको छ ।

प्रदेश १ को प्रदेश जनस्वस्थ्य प्रयोगशाला र कोशी अस्पतालमा निःशुल्क पीसीआर परीक्षण भइरहेको हो । कोशीमा निःशुल्क र सशुल्क पीसीआर जाँचको सुविधा रहेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमलाल दासले बताए । उनका अनुसार प्रयोगशालामा पीसीआर परीक्षणको चाप घटेको छैन ।

अस्पतालले पहिलाजस्तै निःशुल्क पीसीआरको परीक्षण गरिरहेको जानकारी दिए । शुल्क तिरेर पीसीआर गर्ने सुविधा पनि यथावत राखेको उनले बताए । उनका अनुसार अस्पतालको प्रयोगशालामा दैनिक ३ देखि ४ सयको हाराहारीमा परीक्षण भइरहेको छ ।

प्रदेश १ को प्रदेश जनस्वस्थ्य प्रयोगशालाले पनि निःशुल्क पीसीआर परीक्षण गरिरहेको छ ।

लक्षण देखिएकाको स्याम्पल कलेक्सन गर्ने सरकारको नीतिका कारण स्वबको संख्यामा केही कमी आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालका प्रमुख जयवेन्द्र यादवले बताए । प्रदेश प्रयोगशालामा एक पटकमा ९६ जनाको परीक्षण हुन्छ । त्यसको परिणाम आउन ६ घण्टा लाग्ने प्रमुख यादवले बताए ।

उनका अनुसार पोजेटिभ दर बढी भएकाले सामुहिक (पुल) गर्न सम्भव नहुने भएकाले रोकिएको छ । जसका कारणले पनि परिणाम संख्या कम देखिन गएको उनले बताए ।

लक्षण देखिएका बिरामीको मात्र स्वाब आउन थालेपछि पहिलाको तुलनामा रिपोर्ट चाँडो दिन थालिएको प्रमुख यादवले बताए । यसको कारणले बिरामीले समयमा उपचार पाउन सहज भएको उनले बताए ।

प्रदेशका सबै स्थानीय तहबाट स्वाब आइरहेको प्रयोगशालाले दैनिक २ सयदेखि २ सय ५० सम्म स्वाबको परीक्षण गरिरहेको उनले बताए ।

संकलन गरेर पठाएको स्वाबको निःशुल्क परीक्षण भइरहेको यहाँका स्थानीय तहहरुले बताएका छन् ।

कटहरी गाउँपालिकाका प्रशासकीय अधिकृत गणेशबहादुर कार्कीले पीसीआर परीक्षणमा शुल्क पनि नलागेको र कुनै समस्या पनि नभएको बताए । स्वाब संकलनका लागि भिटिएम भने आफैंले खरिद गरेको उनले बताए ।

धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले पनि पीसीआर परीक्षण निःशुल्क भइरहेको बताए । गाउँपालिकाले संकलन गरेको स्वाब प्रदेश जनस्वस्थ्य प्रयोगशाला र कोशी अस्पतालको प्रयोगशालामा पठाउने गरेको उनले बताए ।