Rumpum Advertisement
Dazzu

अमेरिकाको मतपरिणाम आउने क्रम जारी, झिनो मतले बाइडेन अगाडि

अमेरिकाको मतपरिणाम आउने क्रम जारी, झिनो मतले बाइडेन अगाडि

विराटनगर, २० कात्तिक । अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । गणना जारी रहँदा मतपरिणाम विभिन्न सर्वेक्षणको अनुमानविपरीत आइरहेको छ ।

निकै प्रतिस्पर्धात्मक बनेको निर्वाचनको अन्तिम मत परिणाम प्राप्त भइसक्दा राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनबीचको प्रतिस्पर्धा झिनो अन्तरले छिनोफानो हुने स्पष्ट भएको छ । विगतभन्दा भिन्न तरिकाले हुलाकमार्फत मतदान गरिएका कारण पूरा नतिजा आउन भने केही दिन लाग्ने जनाइएको छ ।

मतगणना जारी रहँदै ट्रम्पले आफ्नो विजयको उद्घोष गरेका छन् । तर चुनावमा धाँधली भएको भनी मतगणनाको वैधानिकतामाथि प्रश्न उठाउँदै उनले अदालतसम्म जाने चेतावनी पनि दिएका छन् । उनले चुनावमा भएको धाँधलीबारे प्रमाण भने सार्वजनिक नगरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

२० वर्षअघिको जर्ज डब्लू बुस र एल गोरबीचको प्रतिस्पर्धामा फ्लोरिडामा ५ सय ३७ मतको झिनो अन्तरको मतगणनामा विवाद भएको थियो । त्यतिबेला अमेरिकी सर्वोच्च अदालतले बुसको पक्षमा निर्णय गरेको थियो ।

डेमोक्रयाट प्रत्याशी बाइडेनले अमेरिकी जनतालाई सम्बोधन गर्दै धैर्य गर्न आह्वान गरेका छन् । उनले चुनावी परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त रहेको बताएको बीबीसीले उल्लेख गरेको छ । जितका लागि २ सय ७० इलेक्टोरल कलेज भोट चाहिनेमा एक दर्जन ‘ब्याटलग्राउन्ड’ राज्यमध्ये ५ वटामा निकै प्रतिस्पर्धा चलिरहेको छ ।

पेन्सलभेनिया, विस्किन्सन, जर्जिया, नेभाडा, एरिजोना र नर्थ क्लारोलिनामा दुई उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा छ । यी राज्यमा ६८ इलेक्टोरल कलेज भोट छ । एरिजोना, नेभाडा, विस्किन्सनमा बाइडेनको झिनो अग्रता छ ।

पेन्सिलभेनिया, जर्जिया र नर्थ क्लारोलिनामा ट्रम्प थोरै मतले अगाडि छन् । जर्जियामा पनि बाइडेनले ट्रम्पसँगको अग्रता घटाउँदै लगेका छन् । जर्जियामा ट्रम्प करिब ४७ हजार मतले अगाडि रहेका छन् । फुल्टन काउन्टीको करिब ३६ हजार मतको नतिजा आजै आउने बताइएको छ । जसमा ७२ प्रतिशतसम्म मत बाइडेनको पक्षमा गएको अनुमान गरिएको छ ।

नेपाली समयअनुसार बिहीबार बिहानसम्म बाइडेन २ सय ६४ को स्थितिमा छन् भने ट्रम्पले २ सय १४ ले पछ्याइरहेका छन् । अमेरिकाको आगामी राष्ट्रपति निर्वाचित हुनका लागि बाइडेनलाई केवल ६ इलेक्टोरल भोटको आवश्यकता देखिएको समाचार संस्था एपीले जनाएको छ । त्यसका लागि उनले अब एउटा राज्यमा जित हात पारे हुन्छ ।

अमेरिकी राष्ट्रपतिका लागि मंगलबार प्रत्यक्ष चुनाव भएको थियो । करिब १० करोड मतदाताले त्यसअघि नै मत खसालेका थिए । त्योमध्ये करिब साढे ६ करोड मत हुलाकमार्फत खसाइएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । कोरोना महामारीका कारण पनि विगतको तुलनामा यस पटक निकै धेरै मतदाताले हुलाकमार्फत मत खसालेका हुन् ।

फ्लोरिडामा ट्रम्पको पक्षमा परिणाम आइसकेको छ । पेन्सिलभेनिया, विस्किन्सन र जर्जियाका सहरी क्षेत्रको मतगणना बाँकी रहेकाले बाइडेन पक्ष निकै आशावादी देखिएको छ ।