Rumpum Advertisement
Dazzu

पीएसजीको दोस्रो हार : लेइपिजले लियो बदला

पीएसजीको दोस्रो हार : लेइपिजले लियो बदला

विराटनगर, २० कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दोस्रो हार ब्यहोरेको छ ।

बुधबार राति भएको समूह चरणको तेस्रो खेल खेलमा पीएसजी जर्मन क्लब आरबी लेइपिजसँग २–१ गोलले स्तब्ध भएको हो ।

लेइपिजको मैदानमा पीएसजीले सुरुआती अग्रता दिलाएका थिए । खेलको छैटौं मिनेटमा एन्जल डी मारियाले मोइसे किनको पासमा गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

डी मारियाले पीएसजीको अग्रता दोब्बर बनाउने अर्को मौका खेर फाले । खेलको १६औं मिनेटमा पीएसजीले पेनाल्टीको मौका पाएको थियो । जसमा एन्जल डी मारिया असफल भए ।

खेलको ४१औं मिनेटमा लेइपिजका क्रिस्टोफर एनकुन्कुले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए ।

खेलको ५७औं मिनेटमा लेइपिजले पेनाल्टीको मौका पाएको थियो, जसमा इमिल फोर्सबर्गले गोल गर्दै लेइपिजलाई अग्रता दिलाए ।

खेलको इन्ज्युरी समयमा प्रिस्नेल किम्पेम्बेले रातो कार्ड पाएपछि पीएसजी दस खेलाडीमा सीमित बनेको थियो ।

जितसँगै लेइपिजले पीएसजीसँग बदला लिएको छ । अघिल्लो सिजनको च्याम्पियन्स लिगमा लेइपिजलाई ३–० गोलले हराउँदै पीएसजीले फाइनलसम्मको यात्रा तय गरेको थियो ।

यस्तै समूह ‘एच’ लेइपिज ३ खेलबाट ६ अंक बनाउँदै दोस्रो स्थानमा उक्लियो । लेइपिजले पहिलो खेलमा बसासखेरमाथि २–० गोलको जित निकालेको थियो भने दोस्रो खेलमा युनाइटेडसँग ५–० गोलले पराजित भएको थियो ।

पीएसजीले भने दोस्रो हार ब्यहोरेको छ । यसअघि उसले म्यानचेस्टर युनाइटेडसँग २–१ गोलको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा स्तानबुल बसासखेरमाथि २–० गोलको जित निकालेको थियो ।

समूह ‘एच’ मा रहेको पीएसजी ३ अंकसहित तेस्रो स्थानमा छ ।