Rumpum Advertisement
Dazzu

बार्सिलोनाको लगातार तेस्रो जित

बार्सिलोनाको लगातार तेस्रो जित

विराटनगर, २० कात्तिक । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित निकालेको छ ।

बुधबार राति समूह चरणको तेस्रो खेल खेलेको बार्सिलोनाले युक्रेनी क्लब डायनामो किभमाथि २–१ गोलको जित निकालेको हो ।

बार्सिलोनाको मैदान क्याप नोउमा भएको खेलमा घरेलु टोलीलाई जिताउन कप्तान लियोनल मेस्सी र जेरार्ड पिकेले समान एक–एक गोल गरे । डायनामोका भिक्टर ट्याहान्कोभले एक गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो, जसमा मेस्सीले सहजै गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए ।

खेलको ६५औं मिनेटमा पिकेले गोल गरेपछि बार्सिलोनाले आफ्नो अग्रता दोब्बर बनाएको थियो । उनले अन्सु फातीको पासमा गोल गरेका थिए ।

७५औं मिनेटमा डायनामोका ट्याहान्कोभले गोल गर्दै खेल बराबरीमा ल्याउने प्रयास गरे । तर, बाँकी समय गोल नहुँदा बार्सिलोनाले लगातार तेस्रो जित निकालेको हो ।

यसअघि उसले पहिलो खेलमा फेरेन्सभारोसमाथि ५–१ गोलको जित निकालेको थियो भने दोस्रो खेलमा युभेन्टसलाई २–० गोलको जित निकालेको थियो ।

जितसँगै समूह ‘जी’को बार्सिलोनाले ३ खेलबाट ९ अंक बटुलेको छ । ऊ सो समूहको शीर्ष स्थानमा छ ।

डायनामो किभ भने एक अंकका साथ तेस्रो स्थानमा छ । उसले पहिलो खेलमा युभेन्टससँग २–० गोलको हार ब्यहोरेको थियो भने बसासखेरसँग २–२ गोलको बराबरी खेलेको थियो ।