Rumpum Advertisement
Dazzu

खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई कांग्रेसको समर्थन

खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई कांग्रेसको समर्थन

काठमाडाैं, १९ कात्तिक । नेपाली कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेको छ । कांग्रेसका नेताहरु खुलामञ्च नै पुगेर निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेका हुन् ।

कांग्रेसको कोभिड अनुगमन समितिका संयोजक समेत रहेका सहमहामन्त्री प्रकाशशरण महतले काठमाडौं महानगरपालिकाको अहिलेको नेतृत्वले आम नागरिकको समस्या नबुझेको बताए ।

अभियानलाई समर्थन नै गर्न खुलामञ्च पुगेका महतले महानगरपालिका आफैंले राहत पुर्‍याउनुपर्ने ठाउँमा दाताहरूले सहयोग गरे पनि रोक्न निर्देशन दिने कुरा कदापि स्वीकार्य नहुने बताए ।

कांग्रेस नेता भिमसेनदास प्रधानले निःशुल्क खाना खुवाइरहेको समूहलाई १० हजार नगद सहयोग गर्दै सरकारले विकल्प नदिँदासम्म खुलामञ्चमा खाना खुवाउन रोक्न नहुने बताए ।

संविधानले दिएको नागरिकको अधिकार पनि राज्यले खोसेको उनकाे भनाइ थियाे ।

हण्ड्रेड ग्रुपका संस्थापक अंशु यादवले महानगरपालिकाले तिहारसम्म खुलामञ्चमै खाना खुवाउन भनेको बताए ।

तिहारपछि होटल बुकिङ गरेर भएपनि व्यवस्थापन गर्ने महानगरपालिकाले प्रतिवद्धता जनाएको उनले बताए ।

कोरोना संक्रमणको जोखिम बढेको, फोहोर भएको भन्दै महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन भन्दै आएको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार पत्रकार सम्मेलन नै गरेर अन्य ठाउँमा व्यवस्थापन गर्न अग्रह गर्दै आवश्यक सहयोग महानगरले गर्ने बताएका थिए ।

सक्नेले श्रम गर्नुपर्ने र नसक्नेहरूलाई सबै मिलेर व्यवस्थापन गर्नुपर्ने उनदे पत्रकार सम्मेलनमा बताएका थिए ।