Rumpum Advertisement

प्रदेश १ मा दुई सातापछि स्वतः डिस्चार्ज गर्ने तयारी

प्रदेश १ मा दुई सातापछि स्वतः डिस्चार्ज गर्ने तयारी

विराटनगर, १९ कात्तिक । प्रदेश १ मा कोरोना संक्रमण भएको दुई सातापछि स्वतः डिस्चार्जको तयारी गरिएको छ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगतको राष्ट्रिय परीक्षण मार्गनिर्देशनअनुसार स्वतः डिस्चार्जको तयारी गरिएको हो ।

सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमण देखिएको १४ दिन पूरा गरेका र सामान्य अवस्थाकाहरूको स्वतः डिस्चार्ज गर्नेगरी छलफल अघि बढाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका डा. सुरेश मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय परीक्षण मार्गनिर्देशनमा सामान्य अवस्थाका संक्रमितको १४ दिनपछि स्वतः डिस्चार्ज गर्दा हुने उल्लेख रहेको बताए ।

उनले भने, ‘स्वास्थ्य उपचारमा रहेकाहरू, लक्षण देखिएका बाहेकका सामान्य अवस्थाका संक्रमितहरूको पुनः परीक्षण नगरी स्वतः डिस्चार्ज गर्नेबारे छलफल भइरहेको छ ।’

प्रदेश १ मा बुधबारसम्म कोरोना संक्रमितको संख्या २० हजार ४०१ पुगेको छ । संक्रमण देखिएकामध्ये १२ हजार १०१ जना डिस्चार्ज भएका छन् ।