Rumpum Advertisement
Dazzu

प्रलोभनमा पारी तीन युवतीलाई भारत लैजाँदै गर्दा पक्राउ

प्रलोभनमा पारी तीन युवतीलाई भारत लैजाँदै गर्दा पक्राउ

विराटनगर, १९ कात्तिक । प्रलोभनमा पारी बेचबिखनका लागि युवतीहरूलाई भारत लैजाँदै गर्दा चार जना पक्राउ परेका छन् । जागिर लगाइदिने र मासिक ६० हजार दिलाइदिने भन्दै युवतीलाई भारत लैजाँदै गर्दा चार जना पुरुषहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–८ का २८ वर्षीय सचिन मेहता, मोरङको विराटनगर महानगरपालिका–१७ का २४ वर्षीय वरुणकुमार मण्डल, भारत बिहारको अररिया जिल्ला चहटपुर ग्रामपञ्चायत–७ पलासीका ३७ वर्षीय दिलीपकुमार साह र भारतकै बिहारको अररिया जिल्ला चहटपुर ग्रामपञ्चायत–१० का ३५ वर्षीय दिलीप यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कमल थापाका अनुसार भारतमा राम्रो–राम्रो काम पाइन्छ र महिनाको साठी हजारसम्म पैसा हुने भन्दै प्रलोभनमा पारी उनीहरूले बेलबारीकी २ जना र विराटनगर–१७ की एक जना गरी ३ जना युवतीहरूलाई १७ कात्तिकमा इनरुवा टेम्पो स्टेनमा बोलाएका थिए ।

राति मिनि हाई वे होटलमा बास बसी भोलिपल्ट भारत जान गाडीमा विराटनगरतर्फ जानेक्रममा गढी गाउँपालिकाको औरावनीमा जिल्ला प्रहरी कार्यालयको टोलीले चेक जाँच गर्दा शंकास्पद अवस्था देखिएपछि आवश्यक अनुसन्धानका लागि जिप्रका ल्याइएको उनले बताए ।

अनुसन्धानपछि युवतीहरू ओसारपसारमा संलग्न देखिएका ४ जनालाई सुनसरी जिल्ला अदालतबाट म्यादसमेत लिई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।