Rumpum Advertisement
Dazzu

महानगरपालिकाले भन्यो ‘ कोरोनासँग सम्बन्धित सिफारिसको शुल्क नलिनू’

महानगरपालिकाले भन्यो ‘ कोरोनासँग सम्बन्धित सिफारिसको शुल्क नलिनू’

विराटनगर, १९ कात्तिक । विराटनगर महानगरपालिकाले कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेको प्रमाणित गर्न शुल्क नलिने निर्णय गरेको छ ।

कोशी अनलाइनमा होम हाइसोलेसनमा बसेको प्रमाणित गर्दा शुल्क लिएको समाचार प्रकाशित भएपछि महानगरपालिकाले वडा कार्यालयले कोरोनासँग जोडिएको सिफारिसमा शुल्क नलिने निर्णय गरेको हो ।

‘कोरोना संक्रमण मुक्त भएको सिफारिस गर्दा शुल्क लिने निर्णय भएको थिएन् । तर नगरसभाले गरेको निर्णयका आधारमा शुल्क लिएको रहेछ । शुल्कमा एकरुपता पनि देखिएन् ।’ महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणि पोखरेलले भने ‘ आजै कोरोनासँग जोडिएको सिफारिस गर्दा शुल्क नलिने निर्णय भएको छ । वडा कार्यालयलाई सर्कुलर पनि भइसक्यो ।’

महामारीको सुरुवाती अवस्थामा महानगरपालिकाले संक्रमण पुष्टि भएको सिफारिस गर्दा शुल्क लिने गरेको थिएन । तर पछिल्लो समय भने सिफारिस र निवेदन दस्तुर भन्दै ५१० रुपैयाँसम्म संकलन गर्दै आएको थियो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले शुल्क लिदा नराम्रो सन्देश जाने भन्दै नि शुल्क गर्न निर्देशन दिएपछि महानगरले वडा कार्यालयहरुलाई बुधबार नै शुल्क नलिन परिपत्र गरेको हो । बिहीबारबाट कोरोनासँग सम्बन्धित सिफारिस निशुल्क हुनेछ ।