Rumpum Advertisement
Dazzu

कैदीमा कोरोना देखिएपछि कारागारमा उच्च सतर्कता

कैदीमा कोरोना देखिएपछि कारागारमा उच्च सतर्कता

चितवन, १९ कात्तिक । चितवनको भरतपुरस्थित कारागारमा एकजना कैदीमा कोरोना संक्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ ।

कारागार कार्यालय पोखराबाट असोज २७ गते यहाँ स्थानान्तरण गरिएका एकजना कैदीमा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार कर्तव्य ज्यान मुद्दामा कैदी जीवन बिताउँदै आएका गोरखा खोप्लाङका ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।

प्रमुख काफ्लेले भने, ‘पोखराबाट ल्याउँदा उनको पीसीआर रिर्पोट नेगेटिभ थियो । उपचारका क्रममा क्यान्सर अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको छ ।’ कैदीमा कोरोना संक्रमण देखिएसँगै कारागारमा उच्च सतर्कता अपनाइएको छ । सामान्य रुघाखोकी आएकालाई छुट्टै क्वारेन्टिन निर्माण गरी राखिएको छ । अहिले ४६ जना क्वारेन्टिनमा रहेको उनले जानकारी दिए ।

कारागारमा ७ सय ९५ जना कैदीबन्दी छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले कोरोना फैलन सक्ने त्रास बढेको उनको भनाइ छ । कोरोना संक्रमणको जोखिम बढेसँगै अस्पतालमा उपचारका लागि पठाइएका कैदीबन्दीलाई समेत क्वारेन्टिनमा राखेर स्वाब परीक्षण गर्दै आएको उनले जानकारी दिए । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर कैदीबन्दीका आफन्तलाई भेटघाट गर्न बन्द गराइएको छ ।

दुई सय ५५ पुरुष र २५ महिला कैदीबन्दी राख्न सक्ने क्षमताका सो कारागारमा अहिले छ सय ३७ पुरुष र ५८ महिला कैदीबन्दी रहेका छन् । उनीहरुसँगै तीनजना आश्रित बालबालिकासमेत छन् ।