Rumpum Advertisement
Dazzu

संक्रमित गर्भवती महिला गम्भीर बिरामी हुने र मृत्यु हुने सम्भावना बढी

संक्रमित गर्भवती महिला गम्भीर बिरामी हुने र मृत्यु हुने सम्भावना बढी

विराटनगर, १९ कात्तिक । कोरोना भाइरसबाट संक्रमित गर्भवती महिला गम्भीर बिरामी हुने र कोभिडबाट मृत्यु हुने सम्भावना बढी हुने अध्ययनले देखाएको छ ।

गम्भीर बिरामी हुने र मर्ने सम्भावना बढी हुने साथै समयअगावै प्रसूतिको जोखिम पनि बढेको अमेरिकी रोग तथा रोकथाम केन्द्र (सीडीसी)ले सार्वजनिक गरेको एक रिपोर्टले देखाएको हो । गर्भवती महिलालाई गम्भीर बिरामी हुने वा मृत्यु हुने समग्र जोखिम कम नै रहेको छ । तर, सीडीसी अनुसन्धानकर्ताका अनुसार कोरोना भाइरसको संक्रमण भएका गर्भवती महिलालाई संक्रमण नभएको गर्भवती महिलाको तुलनामा आईसीयू तथा भेन्टिलेसनको सपोर्ट चाहिन्छ ।

एमोरी युनिभर्सिटी स्कूल अफ मेडिसिनका स्त्रीरोग तथा प्रसूति विभागका अध्यक्ष डा. डेनिस जैमिसनले अनुसन्धानले कोरोना भाइरसको कुरा गर्दा गर्भवती महिलाहरूको जोखिम बढ्ने कुराको प्रमाण बढाउँदै गएको बताएका छन् ।

‘यसले शिशुसमेत जोखिममा रहेको पनि देखाउँदछ,’ उनले भने, ‘संक्रमित गर्भवती महिलाबाट जन्मिएका शिशु संक्रमित नभए पनि प्रभावित हुन सक्छन् ।’

तुलनात्मकरूपमा गर्भवती महिलालाई आईसीयूमा भर्ना गरी गहन हेरचाहको आवश्यकता बढी हुन्छ । गर्भवती नभएकी महिलासँगको तुलनामा गर्भवती महिलालाई सास फेर्न मद्दतका लागि भेन्टिलेसन चाहिने सम्भावना तीन गुणा बढी रहेको थियो । साथै, गर्भवती महिलालाई अक्सिजन आवश्यक पर्ने जोखिम पनि धेरै रहेको थियो ।

गर्भवती नभएको महिलाको तुलनामा गर्भवती भएको महिलाको मर्ने सम्भावना पनि बढी देखिएको थियो । कोरोना भाइरस संक्रमण भएका गर्भवती महिलाले समयभन्दा चाँडो नै प्रसूति गर्ने सम्भावनासमेत बढी रहेको सीडीसी अन्वेषकहरूले पत्ता लगाएका हुन् ।

अध्ययन टोलीले गर्भवती नभए पनि ३५ वर्षभन्दा माथिका महिला कोभिडका कारण गम्भीर बिरामी हुने सम्भावना बढी हुने बताएका छन् । गर्भावस्थामा शारीरिक परिवर्तन हुने, मुटुको दर बढेको र फोक्सोको क्षमतामा कमी हुने कारण गर्भवती भएका महिला बढी जोखिममा पारेको हुन सक्ने बताइन्छ ।