Rumpum Advertisement
Dazzu

फिदिममा १४ संक्रमित थपिए, चार डिस्चार्ज

फिदिममा १४ संक्रमित थपिए, चार डिस्चार्ज

पाँचथर, १९ कात्तिक । पाँचथरको फिदिममा कोरोना भाइरसका १४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाँचथरका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोका अनुसार कन्ट्याक ट्रेसिङमा परेका तथा अन्य गरी फिदिमकै १४ जनामा संक्रमण देखिएको हो ।

फिदिमका ४१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मोरङ पठाइएकामा पाँचजना महिलासहित १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमा तीनजना बन्दीसमेत रहेका छन् ।

आज आएको रिपोर्टमा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल, महासचिव नवराज घिमिरेसहित स्थानीय व्यवसायीमा संक्रमण देखिएको हो । अध्यक्ष नेपाल र महासचिव घिमिरे दुवैले सामाजिक सञ्जालमार्फत् संक्रमण देखिएको जानकारी दिँदै सम्पर्कमा रहेकालाई सचेत रहन आग्रह गरेका छन् ।

पछिल्लो पटक फिदिमस्थित आइसोलेसनमा रहेका तीनजना र फाल्गुनन्द गाउँपालिकामा होम आइसोलेसनमा रहेका एकजना गरी चारजनाले कोरोना जितेका छन् । पछिल्लो संख्यासँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २४ पुगेको छ ।

मंगलबार मात्रै मिक्लाजुङका एकजनामा संक्रमण देखिएको थियो । जिल्लाको मिक्लाजुङ गाउँपालिका तथा सदरमुकाम फिदिममा समुदायस्तरमा संक्रमण देखिए पनि पछिल्लो पटक ठूलो संख्यामा संक्रमित थपिएका हुन् ।