Rumpum Advertisement
Dazzu

बार्सिलोनासँग भिड्नुअघि डायनामोका प्रशिक्षकको यस्तो ‘कटाक्ष’

बार्सिलोनासँग भिड्नुअघि डायनामोका प्रशिक्षकको यस्तो ‘कटाक्ष’

विराटनगर, १९ कात्तिक । युक्रेनी क्लब डायनामो किभका प्रशिक्षक मिर्की लुसेस्कुले बार्सिलोना च्याम्पियन्स लिग जित्ने स्तरमा नरहेको उल्लेख गरेका छन् ।

च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति बार्सिलोनाको सामना गर्नुअघि डायनामोका प्रशिक्षक लुसेस्कुले यस्तो कटाक्ष गरेका हुन् ।

बार्सिलोनाले समूह चरणको तेस्रो खेलअन्तर्गत डायनामो किभसँग खेल्दैछ । नेपाली समयानुसार राति १ः४५ बजे हुने उक्त खेल बार्सिलोनाको मैदान क्याप नोउमा हुनेछ ।

यस खेलमा घरेलु टोली लगातार तेस्रो जितको खोजीमा छ । यसअघि उसले पहिलो खेलमा फेरेन्सभारोसमाथि ५–१ गोलको जित निकालेको थियो भने दोस्रो खेलमा युभेन्टसलाई २–० गोलको जित निकालेको थियो ।

खेलअघि पत्रकार सम्मेलनमा बोल्दै डायनामोका प्रशिक्षक लुसेस्कोले बार्सिलोना यस सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने स्तरमा नरहेको बताए ।

‘बायर्न म्युनिखसँगको खेलपछाडि यो कुरा बुझियो कि बार्सिलोना खेलमा परिवर्तन गर्न चाहन्छ । उनीहरूको टोलीमा प्रतिभावान खेलाडीहरू छन् । तर, उनीहरूलाई ती टेक्निक सिक्नका लागि समय चाहिन्छ,’ उनले भने ।

‘मलाई लाग्दैन कि बार्सिलोना अहिले च्याम्पियन्स लिगको उपाधि जित्ने स्तरमा छ । बायर्न म्युनिख, पीएसजी र म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग जित्न सक्छन् । बार्सिलोनासँग एकदमै महत्त्वपूर्ण खेलाडी लियोनल मेस्सी छन् । नयाँ प्रशिक्षकलाई कम्तिमा ६ महिना लाग्छ एउटा नयाँ र तन्दुरुस्त क्लब बनाउन’, उनले थपे ।

यसैगरी उनले बार्सिलोनाले घरेलु लिगको तुलनामा च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्नसक्ने बताए । ‘बार्सिलोना त्यो टिम हो जसले ला लिगाभन्दा राम्रो च्याम्पियन्स लिगमा गर्छ । किनकि, घरेलु लिगमा उसलाई सबै प्रतिद्वन्द्वीले राम्ररी चिनिसकेका छन्’, उनले भने ।

आजको खेलमा डायनामो किभ दबाबमा छ । सिनियर टोलीका ६ खेलाडीमा कोरोना संक्रमण देखिएका कारण ऊ दबाबमा परेको हो ।

सिनियर टोलीका मात्र १३ खेलाडी स्पेन आइपुगेका छन् । डायनामोले बी टिमका ६ खेलाडीलाई टोलीमा समावेश गरेको छ ।