Rumpum Advertisement
Dazzu

रोजगारीका लागि भारत जाने बढे

रोजगारीका लागि भारत जाने बढे

कञ्चनपुर, १९ कात्तिक । हिजोआज कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा भारत जानेहरुको लामो लाइन देखिन्छ । दसैँअघि यही नाकामा दसैँ मनाउनका लागि स्वदेश फर्किनेहरुको चहलपहल थियो । दसैँ सकिएलगत्तै रोजगारीका लागि फेरि भारत जानेहरुको घुइँचो बढ्न थालको छ ।

कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा रोजगारीका लागि भारत जानेहरुको भिड लाग्ने गरेको छ । चाडपर्व मनाउन स्वदेश आएका मानिसहरु दसैँ सकिएलगत्तै फेरि रोजगारीका लागि भारत फर्किएका हुन् । दसैँ सकिएर तिहार आउनै लाग्दा भारत जानु रहर नभई बाध्यता भएको उनीहरुले बताएका छन् । देशभित्रै काम नपाउने भएपछि दुईचार पैसा कमाउन र परिवारको लालनपालनकै लागि भारत जानुपर्ने बाध्यता रहेको पनि उनीहरुले बताए ।

कोरोना संक्रमणका कारण स्वदेश फर्किएकाहरु पनि फेरि भारत जान बाध्य भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाका कारण घर फर्किएकालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने बताएको छ । तर देशभित्र रोजगारी पाउने अवस्था नै नभएपछि चाडपर्वको बीचमै पनि मानिसहरु रोजगारीका लागि भारत जान बाध्य छन् । देशभित्रै रोजगारीको अवसर नभएकाले चाडपर्वको प्रवाह नगरी काम खोज्न भारत जानुपरेको गुनासो पनि धेरैको छ ।

सुदूरपश्चिमका दुई नाका गड्डाचौकी र त्रिनगर गौरीफन्टा भएर मात्रै दैनिक हजारौंको संख्यामा नागरिकहरु भारत भइरहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कात्तिक १ गतेदेखि १६ गतेसम्म १२ हजार ७ सय ६३ नेपाली भारत प्रवेश गरेका छन् । जसमा २ हजार ४ सय ५० महिला र १ हजार ४ सय ५ बालबालिका पनि छन् ।